
काठमाडौं । अमेरिकाले रुसलाई धम्की दिएको छ । रुसमाथि भारतको अडानबाट अमेरिका दुःखी भएको हो ।
बारम्बार दबाबका बाबजुद भारतले रुसप्रति तटस्थ अडान परिवर्तन नगरेपछि अमेरिका अहिले धम्कीमा उत्रिएको छ । अमेरिकाले भारतले रुससँग गठबन्धन गरे ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ ।
ब्लुमबर्गको रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकार (ह्वाइट हाउस नेशनल इकोनोमिक काउन्सिलका निर्देशक) ब्रायन डीजले अमेरिकी प्रशासनले भारतलाई रुससँग गठबन्धन नगर्न चेतावनी दिएको बताएका छन् ।

उनले युक्रेन र रुस युद्धमा भारतको प्रतिक्रियाबाट अमेरिका निराश भएको बताए । अन्तर्राष्ट्रिय समाचार वेबसाइट क्रिस्चियन साइन्स मनिटरले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले पत्रकारहरुलाई भने, ‘युद्धको सन्दर्भमा चीन र भारत दुवैका निर्णयबाट हामी निराश भएका धेरै अवसरहरु आएका छन् ।’
उनले अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीलाई अझ बढाएमा भारतले यसको दीर्घकालीन परिणाम भोग्नुपर्ने भन्दै चेतावनी दिएका हुन् ।
युक्रेनमा रुसको आक्रमणलाई लिएर अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र जापानले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । अर्कोतिर भारतले रुसी आक्रमणको आलोचना समेत गरेको छैन ।
भारतले संयुक्त राष्ट्रसंघमा रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावमा मतदानबाट पनि आफूलाई टाढा राखेको छ । हिंसा तत्काल अन्त्य हुनुपर्छ र दुवै पक्षले कूटनीतिक माध्यमबाट मतभेद समाधान गर्नुपर्छ भन्ने कुरा भारतले निरन्तर राख्दै आएको छ।
भारतले युक्रेनमा मानवीय सहायता सामाग्री पनि पठाएको छ । योसँगै रुसले भारतलाई सहुलियत दरमा इन्धन तेल उपलब्ध गराउँदै आएको छ, जुन भारत लिन तयार छ । भारतले पहिले जस्तै अहिले पनि रुसबाट तेल आयात गर्ने क्रम जारी राखेको छ ।
विगत केही दशकदेखि भारत र अमेरिका निकै नजिक आएका छन् । दुई देशबीचको रणनीतिक र सामरिक सम्बन्ध पनि निकै सुदृढ भएको छ ।
चीनको आक्रामकताविरुद्ध अमेरिकाले भारतलाई मित्र बनाएको छ । चीनविरुद्ध अमेरिकाले पटकपटक भारतको पक्षमा बयान दिएको छ ।
चीनको प्रभाव विरुद्ध लड्न भारतलाई पनि अमेरिकाको सहयोग चाहिन्छ, तर रुस–युक्रेन युद्धमा भारतको निष्पक्ष र स्वतन्त्र अडानका कारण अमेरिका भारतसँग निकै रिसाएको छ ।
अमेरिकाले भारतसँग हरेक तहमा वार्ता गरेर आफ्नो अडान परिवर्तन गर्ने प्रयास गरेको छ । यो बीचमा धेरै अमेरिकी अधिकारीहरू भारत आएका छन् । तर यी सबैले अहिलेसम्म कुनै असर देखाउन सकेका छैनन् ।
गत हप्ता अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले पनि भारत भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा दलीपले भारतलाई रुससँग सम्बन्ध नराख्न आग्रह समेत गरेका थिए ।
ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले हालै भनेका थिए, ‘आफ्नो भ्रमणको क्रममा दलीपले आफ्ना भारतीय समकक्षहरूलाई स्पष्ट गरे कि हामी रुसी ऊर्जा र अन्य सामानको आयात बढाउने कुरा भारतको हितमा छैनौं ।
म सहमत छु ।’ भारतको विदेश मन्त्रालयले अमेरिकाबाट आएका यी टिप्पणीहरूमा कुनै प्रतिक्रिया दिएको छैन । एक अमेरिकी अधिकारीले बुधवार रुस विरुद्ध नयाँ प्रतिबन्धको बारेमा आफ्नो नाम न छाप्ने सर्तमा पत्रकारहरूसँग कुरा गरेका थिए ।
उनले अमेरिका र बाँकी जी–७ देशले भारतसँगको सहकार्यलाई निरन्तरता दिने र यसका लागि सक्दो प्रयास जारी राख्ने बताए ।
ती अधिकारीका अनुसार भारत र अमेरिका खाद्य सुरक्षा र विश्वव्यापी ऊर्जामा ठूलो सहयोगी छन् । अमेरिकाले भारतलाई रुससँगको सम्बन्धलाई तिव्रता नदेखाएर तेल र रक्षा हतियारमाथिको निर्भरता अन्त्य गर्न भनिरहेको छ ।
त्यसको बदलामा अमेरिकाले भारतलाई हतियार र तेल दिनेछ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको यो प्रस्ताव मानिरहेका छैनन् । उनले पाकिस्तान र चीनसँग लड्न भारतलाई रुसी हतियार चाहिने कुरामा जोड दिने गरेका छन् । अमेरिकासहितका देशहरुले दिने हतियार निकै महँगो परेको पनि उनको भनाई रहेको छ ।