काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिने संकेत दिएको छ ।

चुनाव बाहिर रहेको एउटा शक्तिलाई निर्वाचनमा भाग गराउन निर्वाचन आयोग समेत सक्रिय बनेको थियो ।

आयोगको आग्रहमा नै भएको सम्वादमा चुनावमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष नेकपाले आग्रह गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोलीले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।

प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर माग्नुभएको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागे गर्नुभएको छ ।

आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उहाँहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने विप्लव नेतृत्वको नेकपाको माग छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको स्पष्ट पार्नुभयो ।

बन्दी रिहाइको विषय भने आयोगको नभइ सरकारको कुरा भएको उहाँको भनाइ थियो । प्रमुख आयुक्त दिनेश थपलियासँग प्रकाण्डले अलग्गै छलफलसमेत गर्नुभयो ।

दल दर्ताको समय आयोगले दिएका बेला विप्लव नेतृत्वको नेकपा आयोगमा गएको थिएन ।

चुनावमा भाग लिने वा नलिने भन्ने विवादका कारण सो पार्टीको दल दर्ता भएको छैन । उनीहरुले आफ्ना बन्दी नेता कार्यकर्ताको रिहालाई मुख्य एजेण्डा बनाएका छन् ।

सम्बन्धित खबरहरु