काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको खुलासा गर्नुभएको छ ।

नवलपुर–१ बाट निर्वाचित उहाँले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताउनुभएको हो ।

नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उहाँले भन्नुभयो, ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीन चोटी जितेँ ।

पहिलो चोटी मेरो खर्च ८० हजार थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड खर्च भयो ।’

उहाँले कसैले आफ्नो क्षेत्रमा उम्मेदवार बन्न चाहे आफूले छाड्ने पनि बताउनुभयो । ‘ल भन्नुस् त तपाईहरु चुनाव लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट ? म छोड्न तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।’

आफू पहिलो पटक नवलपरासीबाट प्रतिस्पर्धा गर्दा नयाँ रहेको र कसैले नचिनेको भन्दै उहाँले त्यसपछि झन् चुनाव खर्च घट्नुपर्नेमा अस्वाभाविक रुपमा बढेको बताउनुभयो ।

‘चिनिसकेपछि त झन् घट्नुप¥यो नि, मेरो चुनावीखर्च घट्दै जानुपर्ने हो, बढ्दो क्रममा छ’ उहाँले भन्नुभयो ।

उहाँ नेपाली कांग्रेसको निवर्तमान महामन्त्री समेत हो । यति चर्चित नेताको चुनावी खर्च त यस्तो छ भने बाँकी नेताहरुको अवस्था के होला ? आँकलन गर्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु