काठमाडौं । इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएपछि उनका समर्थकहरूले पाकिस्तानभर र्‍याली निकालेका छन् ।

कराची र लाहोरमा जम्मा भएका हजारौं समर्थकले रातको अँध्यारोमा झण्डा र मशाल देखाउँदै पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा नारा लगाएका हुन् ।

यसअघि आइतबार इमरान खानको पार्टीका प्रवक्ता फवाद चौधरीले जनतालाई साँझको नमाजपछि विरोध प्रदर्शन गर्न अपील गरेका थिए ।

इमरान खानका प्रतिद्वन्द्वी शाहबाज शरीफ सोमबार (आज) पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

शनिबार अबेर राति भएको अविश्वास प्रस्तावमा भएको मतदानमा इमरान खान पराजित भएपछि उनको सरकार ढलेको थियो । विपक्षी गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त भएकोमा इमरान खानलाई दोष दिइरहेको छ ।

तर खानले आफू सत्ताच्युत गर्ने अमेरिकाको षड्यन्त्रको शिकार भएको बताउँछन् । मध्यरातमा सर्वोच्च अदालत र इस्लामावाद उच्च अदालत खुलेको कुरालाई लिएर सामाजिक सञ्जालमा आक्रोश देखिएको छ ।

पाकिस्तानको सेना पनि खान सरकार हटाउने खेलमा सक्रिय भएको आरोप लगाइएको छ । खान रुस र चीनको पक्षमा रहे पनि सेना प्रमुख मर जावेद बाजवा अमेरिकाको पक्षमा खुलेरै आएका छन् ।

 

सम्बन्धित खबरहरु