काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारकी एक मन्त्रीको भिडियो भाइरल भएको छ ।

सामाजिक सञ्जालमा केन्द्रीय मन्त्री स्मृति इरानीको एउटा भिडियो भाइरल भएको हो ।

आइतबार महिला कांग्रेसकी कार्यवाहक अध्यक्ष नेट्टा डिसुजाले स्मृति इरानीलाई विमानमा पेट्रोलसँगै एलपी ग्यासको मूल्यवृद्धिबारे प्रश्न सोधेकी थिइन् । उनीहरु दुवै जना एउटै फ्लाइटमा यात्रा गर्दै थिए ।

दुईबीचको पहिलो कुराकानी विमानभित्र र केही गुवाहाटी विमानस्थलमा भएको थियो । एक मिनेट भन्दा लामो भिडियो कांग्रेस नेताले ट्विटरमा अपलोड गरेपछि धेरै चर्चा भयो ।

इरानीका कतिपय जवाफ चित्तबुझ्दो छैनन् । तर जुन कुरा सुनिएको छ, त्यसमा स्मृति इरानीले यात्रामा यसरी हस्तक्षेप नगरेको भए राम्रो हुन्थ्यो भनिरहेकी छिन् ।

कोलकाताबाट प्रकाशित अखबार द टेलिग्राफले यसबारे डिसुजासँग कुरा गरेको छ । उनले टेलिग्राफलाई भनिन्, ‘महिला तथा बाल विकास मन्त्रीले मुद्रास्फीति बढ्नुको कारण निःशुल्क कोभिड खोपसँग जोडेकी छिन् ।’

टेलिग्राफले भारतमा निःशुल्क खोप ल्याएको यो पहिलो पटक नभएको बताएको छ । अखबारले स्वतन्त्रता पछि धेरै ठूला रोगहरूको लागि निःशुल्क खोपहरू दिइएको स्मरण गराएको छ ।

डिसुजाले भिडियो ट्वीट गर्दै लेखेकी छिन्, ‘बढ्दो मुद्रास्फीतिको बारेमा सोध्दा उनले खोप, खाद्ययन्न र गरिबलाई पनि दोष दिइन् ।’

तत्कालिन कांग्रेस नेतृत्वको यूपीए सरकार सत्तामा हुँदा स्मृति इरानीले एलपी ग्यासको मूल्यवृद्धिलाई लिएर खाली ग्यास सिलिन्डर लिएर विरोध गर्थिन् । डी सुजा महिला कांग्रेसको कार्यक्रममा सहभागी हुन आसाम पुगेका हुन् ।

उनले टेलिग्राफसँग बढ्दो मुद्रास्फीतिमा मन्त्रीको प्रतिक्रिया पूर्णतया अतार्किक भएको बताइन् । २०११ मा उनै स्मृति इरानीले खाली सिलिन्डर लिएर आन्दोलन गर्थिन् ।

ग्यासको मूल्य ४ सय १५ रुपैयाँबाट ४ सय ३५ रुपैयाँमा पु¥याएकोमा स्मृति इरानीले विरोध गरेपनि अहिले प्रति सिलिन्डर एक हजार रुपैयाँभन्दा बढी पुगेको छ । डिसुजाले भनिन्, ‘उनी फर्स्ट क्लासमा थिइन् ।

एयरहोस्टेस र स्टाफसँग खिचिएको तस्विर देख्न सकिन्छ । जब उनी विमानबाट ओर्लिन थालिन्, मैले बढ्दो मुद्रास्फीतिको बारेमा प्रश्न सोधें । प्रश्नको जवाफ दिनुको सट्टा उनलाई रिस उठ्यो ।’ यता, आसामका मन्त्री पिजुस हजारिकाले डिसुजाको आलोचना गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘हाम्रो संस्कृतिमा पाहुनाको हैसियत भगवान जस्तै छ । महिला कांग्रेस अध्यक्षको आचरण राम्रो भएन । गुवाहाटी विमानस्थलमा उनले स्मृति इरानीलाई बाटोमा रोकिन् । यो आसामको संस्कृति होइन ।’

 

सम्बन्धित खबरहरु