बझाङ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी ठोकुवा गर्नुभयो ।

उहाँले परमादेशबाट विस्थापित भएका ओलीलाई जनादेशबाट पुनर्स्थापना गरिने स्पष्ट पार्नुभयो ।

बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै पौडेलले देश विकासका लागि एमाले सरकारको विकल्प नभएको दावी गर्नुभएको थियो ।

कार्यक्रममा पौडेलले एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन् ।

तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् भन्दै जनतालाई हौसला दिनुभएको थियो ।’

केपी ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उहाँले स्मरण गराउनुभयो ।

‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उहाँले भन्नुभयो ।

अहिले चैनपुर ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै यसलाई एमाले सरकार आएर सुचारु गर्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको चुनावपछि ओली गठबन्धनको होइन, एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ । यदि यो सडक पूरा होस भन्ने चाहनुहुन्छ भने एमालेलाई साथ दिनुस् ।’

एमालेका अगाडि कुनै पनि गठबन्धन नटिक्ने पौडेलको दावी थियो ।

सम्बन्धित खबरहरु