काठमाडौ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी निक्कै चढेको छ ।

अहिले आउने चुनावी परिणामले प्रदेश र संघीय चुनावलाई समेत प्रभाव पार्ने भएकाले मतका लागि दलहरु दिनरात मेहनत गरिरहेका छन् ।

हरेक दलले आफ्ना चुनावी एजेण्डाहरु लिएर अघि बढिरहेका छन् ।

यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमतिमा राजसंस्था पुनर्स्थापना हुने विश्वास लिएको छ ।

राप्रपाका महामन्त्री भुवन पाठकले अब राप्रपाको नेतृत्वमा मात्रै मुलुकमा परिवर्तन सम्भव रहेको दाबी गर्नुभएको छ ।

उहाँले राजनीतिक दलहरुबीच सहमति गरेर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । यो ढिलो चाँडो सम्भव हुने उहाँको विश्वास छ ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता असफल साबित भइसकेका कारण अब हिन्दु अधिराज्य सहितको राजसंस्था पुनर्स्थापना गर्नुपर्ने उहाँको माग छ ।

पाठकका अनुसार ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पनि असफल भइसके छ । अब सबै दलहरू बसौँ र सहमतिबाट यो व्यवस्था परिवर्तन गरौँ ।’

आफ्नो आग्रह स्वीकार नगरे आन्दोलनको आँधिबेरी ल्याएर राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याउने उहाँले चेतावनी दिनुभयो ।

‘यो आग्रह स्वीकार गर्नुहुन्न भने आन्दोलनको आँधिबेरी ल्याएर नागार्जुनबाट राजालाई नारायणहिटीमा ल्याउनेछौँ,’ उहाँले भन्नुभयो ।

कांग्रेस र कम्युनिस्ट असफल भइसकेकोले अब राप्रपाको नेतृत्वमा सरकार बन्नुपर्ने पाठकको दावी छ ।

‘राप्रपा अध्यक्षको नेतृत्वमा सरकार बनेपछि मात्रै यो मुलुकको परिवर्तन सम्भव छ,’ अब हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री बन्नुहुनेछ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु