काठमाडौ । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने नेपाल सरकारले निर्णय गरेको छ ।

सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ ।

यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग हो।

अमेरिकाले एमसीसी अन्तरगत करिब ६० अर्बको अनुदान सहायता दिने सम्झौता नेपालको प्रतिनिधि सभामा अनुमोदनपछि कार्यन्वयमा आइसकेको छ ।

मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जान्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय आवास कम्पनि लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

 

सम्बन्धित खबरहरु