काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा सत्ता साझेदार पाँच दल निर्णयको अन्तिम चरणमा पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएका हुन् ।

सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गर्नुभएको हो तर यो समाचार तयार पार्दा राति १ः०० बजेसम्म समझदारीपत्रमा हस्ताक्षर भइनसकेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहिलो चरणको छलफलपछि चुनावी तालमेलको विषयमा सत्तारूढ दलहरू निष्कर्ष नजिक पुगेको बताउनुभयो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलका अनुसार छ महानगरमध्ये तीनवटा नेपाली काँग्रेसलाई र अन्य तीनवटा क्रमशः माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिने गरी छलफल केन्द्रित छ ।

त्यसैगरी, ११ उपमहानगरपालिकामध्ये सातवटाको नेतृत्व नेपाली काँग्रेस, दुईवटा माओवादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने गरी छलफल भएको उहाँले बताउनुभयो ।

डा. पौडेलले भन्नुभयो, “काठमाडौँ महानगरपालिकासहित ललितपुर र विराटनगरको नेतृत्व काँग्रेसलाई, भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादीलाई दिने गरी छलफल भइरहेको छ ।”

त्यसैगरी, उपमहानगरपालिकातर्फ इटहरी, धरान, बुटवल, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पद काँग्रेसले लिने गरी छलफल भइरहेको उहाँले बताउनुभयो ।

जितपुर सिमरा र घोराही माओवादी केन्द्रलाई, हेटौँडा एकीकृत समाजवादीलाई र जनकपुर जनता समाजवादीलाई दिने गरी सहमति नजिक पुगेको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु