काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किनुभएको छ ।

मङ्गलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी बुधबारदेखि काममा फर्किनुभएको हो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यस्तै, न्यायाधीश फुयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश पनि जारी गर्नुभएको थियो । साथै छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि न्यायाधीश फुयालले दिनुभएको छ ।

गत चैत २४ गत बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरविरुद्ध छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।

यो पनि, जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो ।

गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए । उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

सम्बन्धित खबरहरु