पोखरा । कास्कीको साविक लेखनाथ नगरपालिकाका प्रमुख शालिग्राम पौडेल एमाले प्रवेश गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।

पौडेल २०५४ सालको स्थानीय निर्वाचनबाट लेखनाथ नगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो ।

उहाँले २०५९ सालसम्म लेखनाथको मेयर पदमा काम गर्नुभयो । मेयर हुँदा पौडेलले लेखनाथलाई नगरको स्वरुपमा लैजान भिजनका साथ काम गर्नुभएको थियो ।

२०६५ सालको उपनिर्वाचनमा उहाँ एमालेबाट संविधान सभा सदस्यसमेत उठ्नुभएको थियो । तर पछि माओवादी प्रवेश गर्नुभएका पौडेल फेरी एमालेमा नै फर्किनुभएको छ ।

उहाँको प्रवेशले पोखरा महानगरपालिकामा एमालेको जित हुने आँकलन गर्न थालिएको छ । एमालेले दिपक पौडेललाई पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ ।

यसैगरी पूर्वराजदूत लक्की शेर्पा पनि नेकपा एमालेमा फर्किनुभएको छ । उहाँ लगायतलाई ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।

संविधानसभाकी सदस्य समेत रहनुभएकी शेर्पालाई अध्यक्ष ओलीले खादा ओढाएर स्वागत गर्नुभयो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनुभयो ।

सागर ढकाल, कोषबहादुर जिसी, शिक्षक गोविन्दप्रसाद आचार्य, वेली तामाङ, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य धनबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जुम्लाका पूर्वअध्यक्ष धमेन्द्र थापा र खगेन्द्र थापा पनि एमाले प्रवेश गर्नुभयो ।

यस्तै रामराजाप्रसाद सिंहको पार्टीका सलबहादुर बिकसहित ३० जना, सशस्त्र प्रहरीका पूर्व एसएसपी गाहार्धन राई, सुदर्शन सिलवाल, नेपाल प्रहरीका पूर्व डीएसपी कृष्णराज सापकोटा, पूर्व सव इस्पेक्टर ऋषी मैनालीलगायत पनि एमाले प्रवेश गर्नुभएको छ ।

स्वतन्त्र रूपमा रहनुभएका चर्चित व्यवसायी मिना राणा र वरदान शमशेर राणालाई पनि एमालेले पार्टीमा भित्र्याएको छ ।

 

सम्बन्धित खबरहरु