रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा (एमाले) रोल्पाले उम्मेदवारको टिकट दिएको छ ।

मनोनयनका लागि निर्वाचन आयोगले पार्टीको टिकट अनिवार्य गरेसँगै आज एमालेले अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मलाकुमारी वलीलाई उमेदवारको टिकट दिने निर्णय गरेको हो ।

वडाध्यक्षको उमेदवारमा वडा नं. १ बाट जंग डाँगी, वडा नं. २ मा देवराज वली, वडा नं. ३ माकुलानन्द डाँगी र वडा नं. ४ मा ज्ञानबहादुर वली रहेका छन ।

यसैगरि वडा नंं. ५ मा बलिराम नगवाग, वडा नंं. ६ मा वीरबहादुर वली र वडा नं. ७ मा तुलबहादुर घर्तीमगर रहेका छन् ।

मुख्य तीन राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धा हुने यो पालिकामा विप्लव नेतृत्वको नेकपाले समेत स्वतन्त्र उमेदवारी घोषणा गरेसँगै निर्वाचन थप रोचक हुने भएको छ ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट हरिबहादुर पुन र माओवादी केन्द्रबाट वीरबहादुर खत्रीको चर्चा सुनिए पनि उहाँहरूको अझै उम्मेदवारी टुंगो लागिसकेको छैन ।

विप्लव नेतृत्वको नेकपाको तर्फबाट पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले स्वतन्त्र उमेदवारी घोषणा गरी निर्वाचन लक्षित गतिविधि गरिरहनुभएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकाबाट नेकपा माओवादीका उम्मेदवार वीरबहादुर खत्रीले विजय हासिल गर्नुभएको थियो ।

खत्रीले २४१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशनकुमार वलीले २२९० र तेस्रो स्थान हासिल गर्ने नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर पुनमगरले २२६१ मत प्राप्त गर्नुभएको थियो ।

७ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले ४, एमालेले २ र नेपाली कांग्रेसले १ वडामा जितेको थियो ।

माओवादी केन्द्रले वडा नंं २, ३, ४ र ५ जितेको थियो भने एमालेले वडा नं. ६ र ७ तथा कांग्रेसले वडा नंं १ जितेको थियो । यहाँले कांग्रेस र माओवादीबीच चुनावी तालमेल नहुने आँकलन गरिएकाले अहिलेपनि चुनावी परिणाम निक्कै रोचक हुने देखिन्छ ।

 

सम्बन्धित खबरहरु