काठमाडौं । आफ्नै देशको राष्ट्रिय गानको एक लाइनलाई लिएर चीन सरकार भड्केको छ ।

चिनियाँ सरकारलाई यति रिस उठ्यो कि त्यो लाइनलाई इन्टरनेटमा प्रतिबन्ध लगाइयो ।

वास्तवमा, चीनमा जारी कडा लकडाउनले त्यहाँका बासिन्दाहरूको जीवनलाई अस्तव्यस्त बनाएको छ ।

त्यही कारणले गर्दा अहिले त्यहाँका जनताले सरकारको शून्य कोभिड नीतिको व्यापक विरोध गरिरहेका छन् ।

स्थानीयहरूले रचनात्मक तरिकामा आफ्नो आवाज उठाउन चिनियाँ राष्ट्रिय गान ‘मार्च अफ द भोलन्टियर्स’ को लाइन प्रयोग गरिरहेका छन् । प्रहरीको नजरबाट जोगिन साङ्घाईको भित्तामा मानिसहरूले यी लाइनहरु लेखिरहेका छन् । कतै पोस्टर पनि देखिन्छन् ।

बढ्दो विरोधलाई ध्यानमा राख्दै सरकारले इन्टरनेटमा यो लाइनमाथि प्रतिबन्ध लगाएको हो । वास्तवमा, चिनियाँ मानिसहरूले उक्त लाइनलाई ह्यासट्याग बनाएर चिनियाँ सोशल मिडियामा तस्विर र भिडियोहरू पोस्ट गरिरहेका छन् ।

सामाजिक सञ्जालमा कोभिडका कारण ज्यान गुमाएका वा कडा लकडाउनका कारण उचित हेरचाह नपाएका मानिसहरूका कथाहरू पोस्ट भइरहेका छन् । चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीच्याट र वीबो ले त्यस्ता पोस्टहरू हटाएका हुन् ।

ट्विटर र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा पोस्ट गरिएका भिडियोहरू मात्र संसारले हेर्न पाइरहेको छ । चीनमा लामो समयदेखि शून्य कोभिड नीति चलिरहेको छ ।

यसविरुद्ध आवाज उठाउनेलाई सरकारबाट धम्की मिल्छ । सहरका बासिन्दाहरूलाई चेतावनी दिन ड्रोनहरू प्रयोग गर्ने गरिएको छ ।

रोबोट कुकुरहरूले मानिसहरूलाई डराउन शहरका सडकहरूमा गस्ती गरिरहेका छन् । कडा लकडाउनका कारण चीनको सबैभन्दा ठूलो महानगर साङ्घाईमा लाखौं मानिस अझै पनि घरमै कैद छन् ।

 

सम्बन्धित खबरहरु