काठमाडौ । सरकारले विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएको छ ।

तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार नेपाली सिनेमालाई प्रवद्र्धन गर्न पनि आगामी बजेटमा यसबारे केही न केही गर्नैपर्ने तयारीमा सरकार छ । यसबारे हामीले गृहकार्य गरिरहेका छौं उहाँले भन्नुभयो ।

विदेशी फिल्मलाई कर वृद्धि र स्वदेशी फिल्मलाई कर छुटमार्फत सम्बोधन गर्न सरकारले तयारी गरिरहेको बुझिएको छ ।

‘विदेशीलाई कर बढाएर हुन्छ वा नेपालीलाई घटाएर हुन्छ । यसबारे हामी काम गरिरहेका छौं,’ प्रवक्ता सिंहले बताउनुभयो ।

पछिल्लो समय नेपाली फिल्म बजारमा दक्षिण भारतीय फिल्मको दबदबा बढेको र प्रदर्शक तथा वितरकको पेलानमा परेको भन्दै गुनासो आएपछि मन्त्रालयले सक्रियता देखाएको हो ।

गत साता चलचित्र विकास बोर्डले विदेशी फिल्मलाई कडाइ गर्नेबारे केही सुझाव मन्त्रालयलाई दिएको थियो ।

आइतबार पनि बोर्ड अध्यक्ष दयाराम दाहाल मन्त्रालयका अधिकारीहरुसँग यिनै विषयमा छलफल गर्न व्यस्त देखिनुहुन्थ्यो ।

साथै, बोर्डले डब फिल्मको रिलिज रोक्न मन्त्रालयलाई आग्रह पनि गरिसकेको छ । तर प्रवक्ता सिंहले भने डब फिल्मलाई रोक्नेबारे तत्काल कुनै निर्णय नहुने स्पष्ट पार्नुभयो ।

 

सम्बन्धित खबरहरु