काठमाडौं । अमेरिकाले फेरि रुसलाई भड्काउने बयान दिएको छ ।

अमेरिकाले युक्रेनसँगको लडाँइमा रुसलाई कमजोर देख्न चाहेको बताएको हो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनमा रुसले हार ब्यहोरेमा रुसका नेताले फेरि यस्तो कदम चाल्न हिचकिचाउने बताएका छन् ।

उनले भने, ‘हामी चाहन्छौं रसिया यति हदसम्म कमजोर होस् कि उसले युक्रेनमा गरेको काम दोहोर्याउन नसकोस् ।’

अस्टिनले युक्रेनको राजधानी किभमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेपछि यस्तो बयान दिएका हुन् । जेलेन्स्कीसँगको भेटमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि साथमा थिए ।

दुई महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि अमेरिकी मन्त्रीहरूको यो उच्चस्तरीय भ्रमण मानिएको छ । जेलेन्स्कीसँग दुई मन्त्रीको भेट तीन घण्टासम्म चलेको थियो ।

रुसी सेनाले युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रमा आक्रमण तिब्र बनाइरहेको समयमा यो बैठक भएको हो ।

बीबीसीका कूटनीतिक संवाददाता जेम्स लेन्डलले कमजोर रुसवाला भनाइ असाधारण कठोर भएको स्वीकार गरेका छन् । उनका अनुसार युक्रेनलाई युद्धमा मद्दत गर्नु एउटा कुरा हो भने रुसको क्षमतालाई कमजोर पार्नु अर्को कुरा हो ।

 

सम्बन्धित खबरहरु