नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता किन ?

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १६ माघ, २०७१

इन्द्र आचार्य, जनबोली न्यूज डेस्क, काठमाडौ । नेपाल र बंगलादेश बीच दोहोरो कर मुक्ति सम्झौता माघ १५ गते काठमाडौमा भएको छ । चौथो चरणको वार्ता सम्पन्नपछि भएको यो सम्झौता कानूनी र प्रशासनिक प्रकृया पूरा भएपछि कार्यान्वयनमा आउनेछ । दोहोरो कर मुक्ति सम्झौता नेपाल–बंगलादेशबीचको आर्थिक सम्बन्धमा कोशेढुंगा सावित हुने नेपालको वार्ता टोलीका संयोजक तथा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको बुझाई छ ।

यसले नेपाल र बंगलादेशबीचको आर्थिक तथा कुटनीतिक सम्बन्धमा समेत सुधार हुने उनको धारणा छ । सम्झौता कार्यान्वयन पश्चात् बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुने आन्तरिक राजस्व विभागको दावी छ । कर संकलन सम्बन्धी नेपालको प्रस्ताव वंगलादेश सहमत नभएका कारण सम्पन्न हुन नसकेको सम्झौता अन्ततः वंगलादेश सरकार नेपालको प्रस्तावमा सहमत भएपछि सम्झौता गर्न सफल भएको महानिर्देशक शर्माले बताए ।

सन् १९९८ मा यो विषयको महत्व बुझी नेपालले सम्झौता गर्न पहिलो पटक मस्यौदा प्रस्ताव गरेको थियो । सन् १९९८ मै पहिलो चरणको वार्ता काठमाडौंमा सम्पन्न भएको तथा दोस्रो वार्ता सन् २००१ मा ढाकामा सम्पन्न भएको थियो । सन् २०१२ मा ढाकामा भएको तेस्रो चरणको वार्ताबाट एउटा Article मा मात्र बंगलादेशले असहमति जनाएका कारण सम्झौता हुन सकेको थिएन ।

वंगलादेशले नेपालमा हवाई सेवा, हाइड्रो पावर, वैंक सेवामा लगानी गर्दै आएको छ । सम्झौता कानूनी र प्रशासनिक प्रकृया पूरा भएपछि कार्यान्वयनमा आउनेछ । वंगलादेशी वार्ता टोलीका प्रमुख पर्वेज इकवालले नेपाल र बंगलादेशबीच भएको सम्झौताले ढिलै भए पनि सहमतिमा पुग्नु अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै यसले नेपाल–बंगलादेश बीच रहेको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने बताए ।

सम्बन्धित खबरहरु