काठमाडौं । १६ वर्षदेखि निरन्तर चल्दै आएको सामाजिक सञ्जाल ट्विटर अन्नतः बिकेको छ ।

विश्वका सबैभन्दा धनि व्यक्ति एलोन मस्कले सोमबार ट्विटरलाई किनेका छन् ।

४४ अर्ब डलरमा यो सम्झौता भएको हो, यससँगै २०१३ देखि सार्वजनिक सञ्चालनमा रहेको कम्पनी अब निजी हुनेछ ।

ट्विटरको बिक्रीसँगै मानिसहरूले कम्पनीका वर्तमान सीईओ पराग अग्रवालको बिदाइको अनुमान गरिरहेका छन् । यद्यपी यो हुने वा नहुने भन्ने बारे ठोस जानकारी भने आइसकेको छैन ।

जानकारी अनुसार ट्वीटरका सीईओ पराग अग्रवाललाई निकालेमा ४.२ करोड डलर दिनुपर्नेछ ।

रिसर्च फर्म इक्विलरका अनुसार हालका सीईओ पराग अग्रवाललाई कम्पनी बिक्री भएको १२ महिनाभित्र ट्वीटरबाट हटाएमा उनले करिब ४.२ करोड डलर पाउनेछन् ।

यो महिनाको सुरुदेखि नै एलोन मस्क ट्विटर किन्न खोजिरहेका थिए । अप्रिलको सुरुमा उनले कम्पनीको ९.२ प्रतिशत सेयर किनेका थिए । तर अहिले सम्पूर्ण कम्पनी उनको स्वामित्वमा आएको छ ।

अप्रिल १४ मा एक सुरक्षा फाइलिङमा, मस्कले आफू ट्विटरको वर्तमान व्यवस्थापनमा विश्वास नगर्ने बताएका थिए । यसबाहेक मस्कले केही समयदेखि ट्वीटरको नीतिमाथि लगातार प्रश्न उठाइरहेका थिए ।

यस्तो अवस्थामा कम्पनी बिक्री भएपछि पराग अग्रवालले सोही कम्पनीमा काम गर्न नसक्ने बताइएको छ ।

इक्विलरले आफ्नो प्रतिवेदनमा पराग अग्रवालको एक वर्षको आधारभूत तलब र उनको इक्विटी अवार्डको द्रुत वेष्टिङका ​​आधारमा यो रकम अनुमान गरेको हो । एक ट्विटर प्रतिनिधिले इक्विलरको अनुमानमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पराग अग्रवाललाई गत वर्ष नोभेम्बरमा ट्विटरको सीईओ बनाइएको थियो । ट्विटर प्रोक्सीका अनुसार, २०२१ को लागि उनको कुल क्षतिपूर्ति ३।४ करोड डलर थियो, धेरै जसो स्टक पुरस्कारको रूपमा मिलेको बताइन्छ ।

सम्बन्धित खबरहरु