काठमाडौं । आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूले चेतावनी दिएका छन् ।

आफ्ना अपस्ट्रिम सेवाप्रदायक (टाटा, एयरटेल, सिफि) लाई ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागि सरकारले विदेशी मुद्रा सिफारिस नगरेको भन्दै इन्टरनेट काटिन सक्ने सेवा प्रदायकहरूले बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले शनिबार विज्ञप्ति जारी गर्दै सरकारका कारण ६ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी गर्न नसकेको आरोप पनि लगाएको छ । चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने आइस्पानले स्पष्ट पारेको छ ।

मन्त्रालयले बेरुजुको विषयलाई लिएर अनेकन बाहानामा विदेशी मुद्रा सिफारिस रोकेर नीजि क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको आइस्पानले उल्लेख गरेको छ ।

टेलिभिजन सेवा प्रदायकलाई पनि विदेशी मुद्रा सिफारिसमा सहजीकरण नगरेकाले टीभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख छ । आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ ।

सम्बन्धित खबरहरु