काठमाडौं, १६ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्षले आफूहरूलाई संविधानसभाबाट बाहिर निकाल्न चाहेको भए पनि संविधानसभा छाड्न नहुने बताएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले संसदीय समितिमा सहभागी नहुने र सडक संघर्षलाई जोड दिने पार्टीको नीति प्रस्ट्याउँदै सडकबाटै दबाब दिएर सत्ता पक्षलाई सहमतिमा ल्याउन अधिकतम कोसिस गरिनुपर्ने बताए।
संविधान निर्माण प्रक्रियालाई बहुमतीयमा लैजाने सभाध्यक्ष सुवास नेम्बाङको कदम नसच्याएसम्म वार्तामा नजाने जानकारी पनि दाहालले नेताहरूलाई गराए। ‘केपी ओलीहरू हामीलाई संविधानसभाबाट बाहिर निकाल्न चाहन्छन्।
संविधानसभाबाट बाहिरिने हाम्रो नीति छैन। सहमतिमा संविधान निर्माण गर्न पहल गर्नुपर्छ’, दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य नारायण दाहालले अन्नपूर्णसँग भने, ‘आत्मसमर्पण गरिँदैन।
हाम्रा एजेन्डालाई बचाउन आन्दोलनमा जानुको विकल्प छैन।’ अन्तर्राष्ट्रिय समुदाय एमाओवादी र मधेसीलाई बाहिर राखेर संविधान निर्माण गर्ने पक्षमा नरहेको जिकिर पनि उनले गरेका थिए।
अर्का केन्द्रीय सदस्य राजकाजी गुरुङका अनुसार संविधानसभाबाट सहमतिमा संविधान बन्ने आशा धेरै कम भए पनि बहुमतीय प्रक्रिया टुलुटुलु हेरेर पनि नबस्ने अध्यक्ष दाहालको भनाइ थियो। ‘सत्ता पक्षले बहुमतीय प्रक्रियामा संविधान निर्माण गर्न खोजेमा के गर्ने भन्ने विषयमा त्यतिबेलै निर्णय गरौंला।
अहिले गाउँ, निर्वाचन क्षेत्र र जिल्लाबाटै आन्दोलन उठाउनुपर्छ’, दाहालले भनेका थिए। ‘संविधान जसरी पनि बनाउनुपर्छ। संविधानसभाबाट संविधान बन्दा र नबन्दा आउने जसअपजस हामीले लिनुपर्ने हुन्छ’, दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले भने।
सत्ता पक्ष आफ्नो पार्टीलाई सिध्याउने अभियानमा लागेको आरोप लगाउँदै दाहालले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले हुनै लागेको सहमति भाँडेको बताए। बैठकमा १४ वटै राज्य समितिका इन्चार्जले पार्टीको आन्तरिक समस्या रहे पनि आन्दोलनका लागि गुटउपगुट छोडेर सडकमा आउने मानसिकता रहेको जानकारी गराए।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनका विपक्षमा दिएको अभिव्यक्तिको भने अधिकांश राज्य समितिका इन्चार्जले आलोचना गरे। कांग्रेस-एमालेले केन्द्रमा पेल्दा जिल्लामा आन्तरिक विवाद छोडेर पार्टीका नेता र कार्यकर्ता एकजुट हुँदै गएको जानकारी राज्य इन्चार्जहरूले गराएको नेता न्यौपानेले बताए।
उनले भने, ‘साथीहरूको रिपोर्टिङपछि सत्ता पक्षको पेलाइले नकारात्मक रूपमा हामीलाई एकजुट गराएको अनुभव भयो।’
एमाओवादीबाट विभाजित भएका माओवादी पार्टीहरूसँग एकताका लागि पहल गर्ने र पहिचानसहितको संघीयताका पक्षधरहरूसँगको सहकार्यलाई कायम राख्दै संघर्ष गर्ने योजना पनि दाहालले बैठकमा सुनाए।
मोहन वैद्य नेतृत्वको माओवादी संयुक्त आन्दोलनमा नआए पनि ऊसँग आन्दोलनकै बीचमा तालमेल हुने केन्द्रीय सदस्य दाहालले बताए। उनले भने, ‘उनीहरू पनि आन्दोलनको घोषणा गर्दैछन्। हाम्रो आन्दोलनसँग उनीहरूको आन्दोलनको तालमेल हुन्छ।’
त्यस्तै एमाओवादी नेता बाबुराम भट्टराईले यथास्थितिवादी र प्रतिगामीको हातमा पुगेको संविधानसभा खोसेर जनताको हातमा ल्याउन नसकेमा मुलुक अर्को मोडमा जाने बताए।
संविधानसभालाई बहुमतीय प्रक्रियामा लैजाने निर्णय नसच्याएसम्म सत्ता पक्षसँग वार्ता नहुने जानकारी गराउँदै बैठकअघि भट्टराईले पत्रकारहरूसँग भने, ‘बल सत्ता पक्षको कोर्टमा पुगेको छ। सत्ता पक्षले दम्भ र अहंकार छोडेर हामीसँग सहकार्य गर्ने तत्परता देखाउनुपर्छ।’