काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँडेको कुरामा नयाँ ट्विस्ट देखिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० मा वडाध्यक्षका उम्मेदवार अमृत खनालले एक महिलाको पाउमा १ हजारको नोट राखेर भोट मागेको आरोप लागेको थियो ।
सामाजिक सञ्जालमा मतदाताको पाउमा पैसा राखेर भोट मागेको भन्दै उनको चर्को आचोचना भयो ।
चुनावी प्रचारका लागि घरदैलो अभियानमा निस्केका खनालले प्रत्येक घरमा यसैगरी भोट माग्दै हिँडेको नेकपा (एमाले) ले आरोप लगाएको छ ।
कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागेको आरोप लागेको छ । खनालका अनुसार तस्वीरको सत्यता नबुझेर विपक्षीले प्रचारको मसला बनाएका छन् ।
खनालले उक्त तस्वीरमा गोडा ढोगिएकी महिला मतदाता नभएर आफ्नी फुपु भएको बताए ।
ती महिलाको नाम चेतकुमारी कार्की हो । खनालले बताए अनुसार फुपाजुको मृत्यु भैसकेको हुनाले दिदीको दैनिकीलाई सहजता होस् भनेर सहयोग गरेका हुन् ।
कार्की प्रतिको सम्मानमा आफूले हरेक पटक भेट्दा केही रुपैयाँसहित ढोग गर्ने गरेको उनको भनाई रहेको छ ।
फुपु कार्कीको घर वडा नम्बर १० मा भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा छ । फुपुले आफूलाई मत दिनै नपाउने भए पनि विपक्षीले गलत प्रचार गरेको खनालको गुनासो छ ।