काठमाडौं । तीन सन्तानकी आमा एवं गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ । भारत, आन्ध्र प्रदेशमा एक गर्भवती एवं तीन सन्तानकी आमामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।

त्यहाँको बाप्तला जिल्लाको रेपल्ले रेलवे चौकीमा शनिबार राति तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । यो घटना रेलवे चौकीको प्लेटफर्म नम्बरमा भएको थियो, जहाँ परिवार रेल कुरेर बसेको थियो ।

जानकारी अनुसार आरोपितले पहिले पूरै परिवारलाई अपहरण गरेका थिए । त्यसपछि महिलाका श्रीमानलाई बाँधेर नराम्ररी कुटपिट गरे । महिलाका पतिले चिच्याएर रेलवे प्रहरीको मद्दत लिन खोजे, तर कुनै फाइदा भएन । घाइते महिलाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तीन जना अभियुक्त पक्राउ परेका छन्, जसमध्ये एक नाबालिग हुन् । एनडीटीभीको रिपोर्ट अनुसार यो घटना स्थानीय समयानुसार शनिबार राति १ बजेको हो । पीडित परिवार कामको खोजीमा गुन्टुरबाट कृष्णा जिल्लातर्फ गइरहेको थियो ।

परिवार प्रकाशम जिल्लाको हो । शनिबार राति पाँचजनाको परिवार रेलवे चौकीमा रेलको पर्खाइमा बेन्चमा सुतिरहेको बेला तीनैजनाले उनीहरूलाई नियन्त्रणमा लिएर गएका थिए । आरोपित तीनै जना मादक पदार्थ सेवन गरेको खुलेको छ ।

आरोपितले महिलाका श्रीमानलाई आक्रमण गरे, श्रीमती बीचमा आएपछि उनीहरूले महिलालाई रेपल्ले चौकीबाट घिसारेर लगेको बताइएको छ । रेपल्ले रेलवे चौकी आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ८० किलोमिटरको दुरीमा रहेको छ ।

महिलाका श्रीमानले भागेपछि रेलवे प्रहरीको सहयोग लिन खोजे, तर चौकीमा कुनै अधिकारी थिएनन् । पछि ती महिला नजिकैको झाडीमा घाइते अवस्थामा फेला परेकी थिइन् । उनलाई स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

आन्ध्र प्रदेशमा महिलाको सुरक्षा सुनिश्चित गर्न दिशा योजना अन्तर्गत सरकारले फास्ट ट्र्याक अनुसन्धान, अभियोग चलाउने दाबी गरिरहेको बेला यो डरलाग्दो घटना भएको छ । आन्ध्र प्रदेश महिला आयोगकी अध्यक्ष वासिरेड्डी पद्माले प्रहरीलाई दोषी विरुद्ध गम्भीर कारबाही गर्न निर्देशन दिएकी छन् ।

पद्माले पीडितलाई राम्रो उपचार गर्न पनि चिकित्सकलाई निर्देशन दिएकी छन् । यसैबीच तेलुगु देशम पार्टीका नेताहरूले दोषीमाथि कडा कारबाही गर्न माग गर्दै अस्पताल अगाडि धर्ना दिएका छन् ।

सम्बन्धित खबरहरु