ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मनिष भनिने मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भक्तपुर जिल्ला अदालतले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।

उहाँविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । वैशाख १६ गते अदालतले ओखलढुंगा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो ।

उहाँविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ ।

उहाँविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा उहाँलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

‘उहाँविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा उजुरी दर्ता भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालले भन्नुभयो, ‘अनुसन्धान भइरहेको छ, प्रमाणहरु लगभग जुटाइसकेका छौँ, सबै प्रक्रिया पूरा भइसकेपछि पक्राउ गरि अदालत लैजान्छौँ ।’

नेपाली कांग्रेसको तर्फबाट लिखु गाउँपालिकाकै अध्यक्ष पदका उम्मेदवार अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतलाई दोहोरो नागरिकता र बैंकिङ कसुरमा कालोसूचीमा परेको भनी उजुरी दर्ता गराउनुभएको थियो ।

निर्वाचन अधिकृत राजेशकुमार थापाले ‘पछि कानुनबमोजिम हुने गरी हाललाई मनोनयन पत्र खारेज गरिरहनु नपर्ने’ भनी निर्णय गरेपछि उहाँको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ ।

तर प्रहरीले उहाँलाई फरार सूचीमा राखेर खोजबिन थालेको छ । निर्वाचन आयोगको मतदाता नामावली सूचीमा पनि फरक–फरक दुई नाम रहेको छ ।

आयोगको मतदाता नामावली सूचीमा क्र.सं. १३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उहाँको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ ।

उहाँले २०४७ मा ओखलढुंगा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिनुभएको देखिन्छ । त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ ।

यी दुवै नागरिकतामा उहाँको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ । उहाँले पोकली–४ ओखलढुंगा ठेगाना राखेर दुई ठाउँबाट नागरिकता लिएको देखिन्छ ।

 

सम्बन्धित खबरहरु