काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवारहरुबारे पूर्वमिस नेपाल शृंखला खतिवडाले आफ्नो धारणा राखेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा रहेका उम्मेदवारहरूका बारेमा आफ्नो धारणा प्रस्तुत गरेकी हुन् ।

इन्स्टाग्राम स्टोरीमार्फत उनले काठमाडौंमा मेयरको उम्मेदवारका रुपमा रहेका बालेन शाह, सिर्जना सिंह, केशव स्थापित र समीक्षा बास्कोटालाई लिएर आफ्नो विचार व्यक्त गरेकी छिन् ।

खतिवडाले काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा रहेका बालेन कुनै राजनीतिक दलबाट नभएपनि युवा मतदाता र राजनीतिक पार्टीबाट वितृष्णा भएकाहरूमाथि प्रभाव जमाउन सक्ने संकेत गरेकी छिन् ।

उनका अनुसार बालेन टिम बनाउन र टिममा काम गर्नमा इच्छुक उम्मेदवार हुन् । बालेनले ‘राजनीतिमा युवा’ भन्ने संकेतलाई थप बलियो बनाएको उनको बुझाई रहेको छ ।

बालेनलाई सजिलो रुपमा हेर्न नहुने उनले स्पष्ट पारेकी छिन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको घोषणा पत्र शृङखलालाई राम्रो लागेको छ ।

सिर्जना काठमाडौं हाक्न सक्ने सम्भावित महिला भएको उनले बताइन् । सिर्जना सिंहको आफ्नै राजनीतिक यात्रा भएकाले नातावाद महत्त्वको विषय नभएको समेत उनले बताइन् ।

एमालेका तर्फबाट उम्मेदवार रहेका स्थापित आलोचना र आरोप सहन नसक्ने व्यक्ति हुन् । स्थापित मेयर पदका लागि उम्मेदवारका रुपमा उठिरहँदा जातीय राजनीति गरिरहेको आरोप शृङखलाको छ ।

विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटा पूर्वतयारीका साथ आएको जस्तो देखिएको शृङखलाको बुझाई रहेको छ । उनी आत्मविश्वासी र जानकार देखिएको पनि शृङखलाले लेखेकी छन् ।

सम्बन्धित खबरहरु