काठमाडौं । यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो ।

ल्होत्से हिमाल आरोहणका क्रममा कोरियाका आरोही टोलीका गाइड खुदम वीर तामाङ पहिलो क्याम्पबाट बेपत्ता भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

सोमबारदेखि बेपत्ता भएका गाइड तामाङको जीवित भेटिने सम्भावना नभएकाले खोजी कार्य समेत स्थगित गरिएको शेर्पाले जानकारी दिनुभयो ।

साउथ कोरियाका आरोहीहरुले ल्होत्से हिमालको नयाँ बाटो [साउथ फेस]बाट आरोहण गर्न हिमाल तर्फ उक्लेका छन् ।

नयाँ बाटो भएकाले गाइड तामाङ क्रेभासमा फसेको हुनसक्ने अनुमान आरोहण दलका सदस्यहरुले जनाएका छन् ।

तामाङको टोलीमा रहेका कोरियाका आरोही सुङ तेइक होङसहित छ जनाले भने आरोहणलाई निरन्तरता दिंदै आएको कम्पनीले जनाएको छ ।

यस अघि वैशाख २२ गते कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको थियो ।

त्यस्तै गरी धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको चैत २९ गते मृत्यु भएको छ ।

चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।

बैशाख १ गते सगरमाथाको आरोहण गर्ने क्रममा एक गाइडको मृत्यु भएको छ । खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका माप्य दूधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३७ वर्षीय गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको थियो । गोरखापत्र दैनिकबाट

सम्बन्धित खबरहरु