काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार रेनु दाहाललाई संकट पर्ने प्रारम्भिक नतिजाले देखाएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाल प्रारम्भिक नतिजामा नै पछि परेसँगै त्यहाँ एमालेले बाजी मार्ने आँकलन गरिएको छ ।

पहिलो एक सय मत गन्दा नेकपा (एमाले) का मेयर उम्मेदवार विजय सुवेदीलाई ४१ मत प्राप्त भएको छ । गठबन्धनको तर्फबाट हसिया हथौडा चुनाव चिन्हमा रेनुका लागि ३७ मत प्राप्त भएको छ ।

स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको पक्षमा ७ मत प्राप्त भएको छ । त्यहाँ एमालेले उपमेयरमा राप्रपालाई सहयोग गरेको छ ।

हलो चिन्हमा ३५ मत र रुखमा ३९ मत आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महानगरको मतगणना जारी छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।

भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ ।

सो नगरमा कूल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो ।

खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए ।

राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ । यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ । यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो ।

जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ । जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् ।

जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार त्यतिबेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो ।

यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।

सम्बन्धित खबरहरु