धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राख्नुभएको छ ।

साँझसम्म उपमहानगर–१ को ५५३ मतको गणना हुँदा प्रमुखमा हमालले २५० मत पाउनुभएको छ ।

उहाँलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुखका प्रत्याशी नृपबहादुर वडले १६७ मतसहित पछ्याइरहनुभएको छ ।

तेस्रोमा नेकपा एमालेका रणबहादुर चन्दले २७ मत पाउनुभएको छ । उपप्रमुखमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले ११८ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई उपप्रमुखमा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ८९ मतसहित पछ्याइरहनुभएको छ । उपप्रमुखकी एमाले प्रत्याशी कन्दकला रानाथारूले ७६ मत प्राप्त गर्नुभएको छ ।

आज मध्याह्नदेखि सुरु भएको उमहानगरपालिकाको मतगणनामा बदर मतको सङ्ख्या बढ्दै गएको देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५५३ सदर मतमा १०० मत बदर भएको छ ।

चुरे गाउँपालिकाको प्रमुखमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारु १८८ मतसहित अग्रता लिइरहनुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसकी धनाकुमारी थापाले १८३ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका चक्र बोगटीले १३६ मतसहित सत्ता साझेदार दलका प्रमुखका प्रत्याशीलाई पछ्याइरहनुभएको छ । उपप्रमुखमा एमालेकै दीपादेवी साउदले १३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राईभान कुञ्जेडाले जानकारी दिनुभयो ।

सुरुआती चरणको मतगणनामा कैलाली जिल्लाका गोदावरी, गौरीगङ्गा, घोडाघोडी र लम्की चुहा नगरपालिका तथा चुरे र जानकी गाउँपालिकामा सत्ता साझेदार दलका प्रमुखका प्रत्याशीले अग्रता लिइरहनुभएको छ ।

कैलारी गाउँपालिकाको प्रमुखमा राप्रपा, बर्दगोरिया गाउँपालिकाको प्रमुखमा एमाले र भजनी, टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका प्रत्याशी प्रारम्भिक मतगणनामा अगाडि हुनुहुन्छ ।

टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । भौगोलिकरूपमा विकट जिल्लाको मोहन्याल गाउँपालिकाका विभिन्न मतदान केन्द्रका मतपेटिका भने शनिबार मतगणनास्थलसम्म पु¥याउने काम भइरहेको छ ।

 

सम्बन्धित खबरहरु