रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ३ मा एमाले विजयी भएको छ ।

एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र तामाङ भारी मतसहित विजयी हुनुभएको हो । सदस्यमा एमालेकै निमा काल्तेन तामाङ र सीता बिक विजयी हुनुभएको छ ।

वीरेन्द्रनगरमा कांग्रेसको अग्रता
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदूर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत प्राप्त गर्नुभएको छ । वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । उपप्रमुखमा भने एमालेका नीलकण्ठ खनालले अग्रता लिनुभएको छ ।

उहाँले दुई हजार ११३, माओवादीका शान्ति ढकालले एक हजार ६४९ र राप्रपाका लक्ष्मीकुमारी विकले ११९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले ८८, एकीकृत समाजवादीका वीरबहादुर रावतले ३३, नेपाल मजदूर किसान पार्टीका बिजुकला रानाले १६, जनता समाजवादी पार्टी नेपालका सन्तोषी विकले छ मत प्राप्त गर्नुभएको छ ।

वीरेन्द्रनगरमा ४८ हजार ३०४ मत खसेको थियो । वडा नं १६ गणना सम्पन्न भइसकेको छ भने वडा नं १ गणना जारी छ ।

वडा नं १६ को अध्यक्षमा एमालेका डण्डबहादुर विक विजयी हुुनुभएको छ । वडा नं १ मा कांग्रेसका दिनेश खत्रीले अग्रता लिनुभएको छ । वीरेन्द्रनगरमा १६ वडा छन् ।

हालसम्मको मतपरिणाम अनुसार सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी, चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर विकले अग्रता लिनुभएको छ ।

चौकुनेमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । त्यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसी, भेरीगङ्गा नगरपालिकामा कांग्रेसका रामबहादुर सिंह, लेकबेँशी नगरपालिकामा कांग्रेसका उमेश पौडेल र गुर्भाकोट नगरपालिकामा कांग्रेसका हस्त पुनको अग्रता रहेको छ ।

सिम्ता गाउँपालिकाको वडा नं १ खनेटास्थित भगवती मावि केन्द्रमा मतदान स्थगित भएपछि यहाँ मतगणना हुन सकेको छैन् ।

सम्बन्धित खबरहरु