काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नै नेपाल आउनुहुने भएको छ । उहाँको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुग्नुभएको छ ।

२,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउँन मोदी लुम्बिनी आउने कार्यक्रम छ ।

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी सोमबार बिहान लुम्बिनी आउँदै हुनुहुन्छ ।

मोदीको सुरक्षाका लागि स्पेसल प्रोटेक्सन गार्ड (एसपीजी) को टोली चार दिनअघि नै लुम्बिनी आइपुगेको छ । मोदी सोमबार बिहान ११ बजे हेलिकप्टरमा लुम्बिनी आउने तय भएको छ ।

मोदीसहित भारतीय अतिथिहरु चारवटा हेलिकप्टरमा आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिनुभयो ।

लुम्बिनी आइसकेपछि मोदीले मायादेवी मन्दिरमा मार्कर स्टोनमा पुष्प अर्पण गरी पूजा गर्ने, पुष्करणि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि दुईवटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको त्रिपाठीले बताउनुभयो ।

त्यसपछि मोदीले मायादेवी मन्दिरमा रहेको बोधीवृक्षमा जल अर्पण र आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मोदीले भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने तय भएको छ ।

त्यसपछि लुम्बिनीमै रहेको होटल पवनमा केहीबेर बिश्राम गरेपछि त्यहीं प्रधानमन्त्री देउवासँग भेटवार्ता र पत्रकार सम्मेलनको आयोजना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनपछि मोदीले लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिएर सम्बोधन गर्नुहुनेछ । मोदी करिब ३ बजे भारत फर्किने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो ।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय र नेपाली सुरक्षाकर्मीले लुम्बिनीमा संयुक्त गस्ती गरिरहेका छन् ।

सम्बन्धित खबरहरु