काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा शोक परेको छ ।

उहाँका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको हो । प्रेमबहादुरको आज काठमाडौंमा निधन भएको बताइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले यसको पुष्टि गर्नुभयो । उहाँ क्यान्सरका बिरामी हुनुहुन्थ्यो ।

साउदका अनुसार प्रेमबहादुर देउवा नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कञ्चनपुर–२ का अभिभावकीय व्यक्तित्व हुनुहुन्थ्यो ।

देउवाले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेको नेता साउदले बताउनुभयो ।

माछापुछ्रेमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र
स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको माछापुछ्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउँपालिका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीसहित वडाध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत नवराज दङ्गालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

गाउँपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याउनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गर्नुभएको थियो ।

नौ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र) ले वडा नं ७ र नेकपा (एमालेले) वडा नं ६ मा विजयी भएको छ ।

गाउँपालिकाको वडा नं १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी(केन्द्र)का बैकुण्ठ भण्डारी, वडा नं ८ मा काँग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी हुनुभएको छ ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित आठ वडा नेकपा एमाले र एक वडा नेपाली कांग्रेसले जितेको थियो ।

सम्बन्धित खबरहरु