काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सोमबार (मे १६)मा डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर आठ रुपैयाँ र डिजेल तीन रुपैयाँ ८६ पैसा मूल्य बढेको छ ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरमा २२ रुपैयाँ ९४ पैसा र डिजेल ३५ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको छ ।

यसले नेपालको ढाड सेकाएको छ । नेपालमा नै भएको बैकल्पिक उर्जा खपतमा जोड नदिने हो भने नेपालले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ । आर्जित गरेको रकमजति इन्धन खरिदमा भारत जाँदा नेपालको अर्थतन्त्र टाट पल्टिन सक्छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खरिद मूल्य १९२ रुपैयाँ ९४ पैसा र डिजेल÷मट्टीतेलको खरिद मूल्य १८८ रुपैयाँ ३३ पैसा पुगेको छ ।

नयाँ मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य बढाएको छैन । पेट्रोलको बजार मूल्य १७० र डिजल-मट्टीतेल १५३ रुपैयाँ कायम छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले मूल्य बढेर आएकाले तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

दोस्रो किस्ताबापत आगामी मे २३ मा थप १८ अर्ब रकम भुक्तानी गर्नुपर्ने जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु