मुगु । मुगु जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको छ ।

खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उहाँले बताउनुभयो ।

खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उहाँलाई पेस्तोलसहित फेला पारेको थियो ।

बलात्कार अभियोग लागेपछि प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिनुभएको थियो ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ बमोजिम उहाँ निलम्बनमा पर्नुभएको छ । कुनै सांसद निलम्बनमा परेमा संसद् बैठकमा वा संसद् नबसेको वेला सूचना टाँसेर जानकारी दिनुपर्ने व्यवस्था छ।

प्रतिनिधि सभाको नियमावली २४४ को उपनियम ३ मा भनिएको छ, ‘कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ।’

उहाँ विरुद्ध बलात्कार आरोपमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुसन्धान थालेको थियो।

त्यही क्रममा बाँकेको अपराध अनुसन्धान शाखाले २ फागुनमा जिल्ला अदालत, बाँकेबाट सांसद बानियाँलाई पक्राउ गर्न अनुमति पाएको थियो।

पक्राउ पुर्जी जारी भएपछि सांसद बानियाँ १६ फागुनमा आफैं जिल्ला प्रहरी कार्यालय पुग्नुभएको थियो । उहाँलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यही अनुसार जिल्ला प्रहरी कार्यालयले सांसद बानियाँ हिरासतमा रहेको जानकारी सभामुखलाई पठाएको थियो । त्यसका आधारमा सभामुख सापकोटाले निलम्बनमा परेको प्रतिनिधि सभामा जानकारी दिनुभएको थियो ।

मुगुको खत्याड गाउँपालिका–३ का बानियाँ प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँ नेकपा (एमाले) को समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको हो ।

सम्बन्धित खबरहरु