काठमाडौं । निर्वाचनको मुखमा नै सरकारले नागरिकता विधेयक अघि बढाउने योजना बनाएको खुल्न आएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द शर्मा (कोइराला) बीच यही विषयमा छलफल भइसकेको बुझिन्छ ।

आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा नागरिकता विधेयक अघि बढाउने विषयमा कुराकानी भएको थियो ।

संसद्मा पेस गर्न लागेका र पेस गरिसकेका महत्त्वपूर्ण विधेयक अघि बढाउने विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिनुभयो ।

नेकपा (एमाले) को संसद अवरोधका कारण धेरै विधेयकहरु संसदमा आउन सकेका थिएनन् ।

एमालेले अघोषित रुपमा संसद अवरुद्ध खुलाएपछि मौका छोप्ने तयारीमा सरकार रहेको बुझिएको छ ।

“समसामयिक राजनीति, संघीय संसद्लाई नियमित सञ्चालन गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,” गृहमन्त्री खाँणले भन्नुभयो, “प्रतिनिधिसभाको जारी अधिवेशनमै राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा छलफल भएको छ ।”

उहाँले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरिसक्नुभएको छ । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ ।

नागरिकता विधेयक आम नागरिकको सरोकारको विषय भएकाले दलहरूबीच भिन्न मत हुन नहुने उहाँको धारणा छ ।

यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारले उक्त विधेयक संसदमा लगेको थियो । तर सर्वत्र विरोध भएपछि यो विधेयक अघि बढ्न सकेको छैन ।

 

सम्बन्धित खबरहरु