काठमाडौं । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।

बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ ।

बागलुङका चार नगरपालिका र छ गाउँपालिकामध्ये २०७४ सालको निर्वाचनमा छ पालिकाका उपप्रमखु तथा उपाध्यक्षमा महिला थिए । अहिलेको निर्वाचनमा जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमानखोला गाउँपालिकाको उपाध्यक्षमा हीराकुमारी छन्त्याल मात्रै निर्वाचित हुनुभएको छ । अन्य पालिकामा पुरुषले मात्रै नेतृत्व गर्ने भएका छन् । बागलुङमा एमालेले बागलुङ नगरपालिका बाहेक अन्य नौ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाए पनि जित्न सकेनन् ।

पाँच दलीय गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका गाउँपालिकाले समेत यस पटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो ।

पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका ८५ वडा रहेको बागलुङमा वडाध्यक्षमा महिला नेतृत्व शून्य रहेको छ । गठबन्धले कांग्रेसबाट बडिगाडको अध्यक्षमा मात्रै महिला सिफारिस गरेको थियो भने तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को छुट्टाछुट्टै उम्मेदवारी थियो ।

सम्बन्धित खबरहरु