महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ मा एउटा नयाँ घटना भएको छ ।
एउटा मतपेटिका चुनावी परिणाम सार्वजनिक भएको ३ दिनपछि फेला परेको छ ।
मतगणना सम्पन्न भयो भनेर उम्मेदवारलाई विजयी घोषणा गरिसकेपछि मतपेटिका फेला पर्यो । बर्दिवास ८ मा मतगणना जेठ १ गते नै सम्पन्न भएको थियो ।
सो मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा ७ सय ५१ मत प्राप्त गरि वडाध्यक्षमा विजयी भएको घोषणा निर्वाचन कार्यालयले गरेको थियो।
लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेर दोस्रो भएको निर्वाचन कार्यालयको घोषणा मा थियो ।
लामाले त्यसपछि आफ्नो वडा रहेको क्षेत्र हात्तिलेटमा विजयी जुलुस लगाउनेसहितको कार्यक्रम आयोजना गर्नुभयो ।
तर जेठ ४ गते अर्को मतपेटिका फेला पर्यो । सो मतपेटिकामा ८४ वटा मत गन्दा लामा र किङरिङको मत बराबरी आएको छ ।
दुवै उम्मेदवारको मत ७ सय ६६ भएको छ। त्यसपछि गोलाप्रथाबाट गोला टिपाइयो । गोला टिप्दापनि पहिले घोषणा गरिएका लामा नै निर्वाचित हुनुभयो ।
निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले राजनीतिक दल तथा कर्मचारीहरुले ध्यान नदिँदा समस्या आएको बताउनुभयो ।
राजनीतिक दलहरुले खोजेनन् र हाम्रा कर्मचारीले पनि छुटाउनु भएको रहेछ । खोजी गर्दा फेला पर्यो सहायक निर्वाचन अधिकृत तामाङले भन्नुभयो । त्यसपछि गणना गरेर अन्तिम परिणाम घोषणा गरियो ।