काठमाडौ । मिस ग्लोबल इन्टरनेसनल–२०१४ ब्युटि–पेजेन्ट आयोजना गर्ने एक कन्सल्टेन्सी सञ्चालकबाट बलात्कृत भएको भन्दै भिडियो सार्वजनिक गरेकी तत्कालीन प्रतियोगीले भोग्नुपरेको शोषणबारे त्यति बेला राम्ररी कुरा नसुनेकोमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक रुपमा माफी मागेकी छन्।

बिहीबार दिउँसो आफ्नो फेसबुकमा सुब्बाले लामो माफीनामा पोस्ट गरेकी हुन्। उनले आफू माफीको लायक नभएकोसमेत उक्त पोस्टमा उल्लेख गरेकी छन्।

कन्सल्टेन्सी सञ्चालकबाट छ महिनासम्म बलात्कार, धम्की र यातना भोगिसकेपछि आफूले आदर्श मानेकी सुब्बालाई सहायताका लागि फोन गरेको तर उनले त्यो तिम्रो समस्या हो, मलाई किन फोन गरेको भन्दै बेवास्ता गरेको ती युवतीले भिडियोमा उल्लेख गरेकी थिइन्। त्यसपछि माल्भिकाले माफी मागेकी छिन् ।

सुन्दरी प्रतियोगिता जिताउने नाममा किशोरीलाई ६ महिनासम्म बेहोस गराएर बलात्कार

सन् २०१४ देखि २०२१ सम्म आफूले भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे ती युवतीले २० वटा साना साना टिकटकमा भिडियो क्लिप सार्वजनिक गरेकी छिन् । उक्त क्लिपहरु उनले युवट्युबमा समेत सार्वजनिक गरेकी छिन् ।

भिडियो हेरेपछि युवतीले फोन गरेको र आफूले निकै हल्का प्रतिक्रिया दिएको सम्झना आएको माल्भिकाले स्वीकार गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् म घटनाबारे अत्यन्तै दुःखी छु तर म माफीको लायक छैन। मलाई विस्तृत कुरा स्पष्ट याद त छैन तर तपाईंले मलाई फोन गरेको र आफूलाई दुर्व्यवहार गर्ने पीडकबारे कुरा गर्न खोजेको राम्ररी याद छ।

तपाईंलाई मेरो खाँचो परेका बेला मैले सहयोग गर्न नचाहेको पनि मलाई याद छ। मेरो त्यो व्यवहार माफीयोग्य होइन र मैले तपाईंबाट माफीको अपेक्षा पनि गरेको छैन।

त्यति बेला तपाईंको कुरा राम्ररी नसुनेकोमा, तपाईंलाई विश्वास नगरेकोमा र आवश्यक परेका बेला सहयोग गर्न अघि नसरेकोमा म अत्यन्तै दुःखी छु भन्ने तपाईंलाई सुनाउन चाहन्छु। तपाईंलाई मसँग रिसाउने र मलाई घृणा गर्ने पूर्ण अधिकार छ।

किनभने मैले त्यतिखेर तपाईंको अपेक्षा पूरा गर्न पूरै असफल भएकी थिएँ। तपाईंलाई सहयोग नगरेर तपाईंमाथि भएको अन्यायको र तपाईंले बेहोर्नुपरेको पीडामा म पनि भागीदार छु भन्ने कुरा म पूर्ण रूपले स्वीकार गर्छु।

मलाई थाहा छ यो कुरा भन्न अत्यन्तै ढिलो भइसक्यो तर म आज यो कुरा भन्न गइरहेको छु तपाईंले भोग्नुपरेको दुःखको घाउ भर्न म जुनसुकै काम गर्न तयार छु।

जबसम्म तपाईंले मलाई माफ गर्न सक्नु हुने छैन, यौन हिंसाविरूद्धका कुनै पनि कार्यक्रम र फेमिनिजमसम्बन्धी कुनै प्लेटफर्ममा सहभागी हुने छैन। यसरी सार्वजनिक जीवनबाट बाहिर रहँदा तपाईंको पीडा कम हुन्छ भने म त्यो गर्नेछु।

यदि तपाईं मलाई व्यक्तिगत रूपमा भेटेर आफ्नो रिस पोख्न चाहनु हुन्छ र मैले व्यक्तिगत माफी माग्दा तपाईंलाई अलिकति भए पनि सहज हुन्छ भने त्यसको निम्ति पनि तयार छु।

माल्भिकाले फेसबुक पोस्टमा भनेकी छन्, मैले त्यतिखेर उनीसँग लामो गफ गर्नुपर्ने थियो र उनको हात समात्दै उनलाई अंकमाल गर्नुपर्ने थियो। म उनलाई खाँचो परेका बेला उनको समीप हुनुपर्ने थियो।

मैले केही न केही त गर्नुपर्ने थियो। जस्तो उनले भनेकी छन्, मैले उनलाई फोन गरेर बहिनी तिमीलाई कस्तो छ भनेर सोध्नुपर्ने थियो। तर मैले यी केही पनि गरिनँ।

पछिल्लो आठ वर्षमा मिटू अभियान सुरू भएपछि मैले उनलाई फोन गरेर सोधेको भए पनि हुन्थ्यो तर मैले त्यो पनि गरिनँ। मैले उनलाई निरास बनाएँ। मैले तपाईंहरू सबैलाई निरास बनाएँ।

यी सबै कारणले एक महिला हुनुको नाताले, मानव हुनुको नाताले र अरूभन्दा अलिकति बढी प्रभावशाली हुनुको नाताले तपाईंहरू सबैलाई मैले निरास बनाएँ। त्यसैले जुन घृणा मैले पाइरहेको छु, म त्यसको लायक छु।

सम्बन्धित खबरहरु