काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो सदस्यताका लागि आवेदन दिने स्वीडेन र फिनल्याण्डको निर्णयलाई अमेरिकाको पूर्ण समर्थन रहेको बताएका छन् ।

फिनल्याण्ड र स्वीडेनले आइतवार १६ मे मा नेटो सदस्यताको लागि आवेदन दिने निर्णय गरेको थियो ।

फिनल्याण्ड र स्वीडेनको यो कदमलाई ऐतिहासिक मानिएको छ किनभने यी दुवै देश अहिलेसम्म तटस्थ थिए । यो निर्णय यस अर्थमा पनि विशेष छ कि रुसको चेतावनीका बाबजुद यी दुवै देशले यो निर्णय गरेका हुन् ।

फिनल्याण्ड र स्वीडेनको यो निर्णयले युरोपेली भूराजनीतिको दृष्टिकोणबाट ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ । तर, टर्कीले स्वीडेन र फिनल्याण्डको यो निर्णयको विरोध गरेको छ ।

नेटो गठबन्धनमा सामेल हुन यी दुई देशहरूलाई सबै ३० नेटो सदस्यहरूको समर्थन चाहिन्छ ।

बिहीबार ह्वाइट हाउसमा स्वीडेनका प्रधानमन्त्री म्याग्डालेना एन्डरसन र फिनल्याण्डका प्रधानमन्त्री साउली निनिस्टोसँगको संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति बाइडेनले स्वीडेन र फिनल्याण्डको नेटोमा सामेल हुने कुरा युरोपेली सुरक्षाको दृष्टिकोणबाट महत्त्वपूर्ण भएको बताए ।

यसै क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले नेटोमा थप दुई सदस्यको सहभागिताले नेटो गठबन्धनका सदस्य राष्ट्रहरूको सुरक्षालाई थप मजबुत बनाउने बताएका हुन् ।

टर्कीलाई अप्रत्यक्ष रूपमा जवाफ दिँदै बाइडेनले नेटोमा सामेल हुने दुई नयाँ सदस्य राष्ट्रबाट कुनै पनि राष्ट्रलाई कुनै खतरा नरहेको स्पष्ट पार्न चाहेको पनि बताए ।

 

सम्बन्धित खबरहरु