काठमाडौं । एक बलात्कारजस्तो गम्भीर घटनामा नाम आएपछि पूर्व मिस नेपालले माफी माग्नु परेको छ ।

मिस नेपाल सन् २००० कि बिजेता तथा सञ्चारकर्मी माल्भिका सुब्बाले लामो बयान जारी गर्दै माफी माग्नु भएको हो ।

मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा आयोजक समेत रहेका कन्सल्टेन्सी सञ्चालकबाट बलात्कृत भएको भन्दै एक युवतीले सार्वजनिक गरेपछि हंगामा मच्चिएको छ ।

सो समयमा तत्कालीन प्रतियोगीले भोग्नुपरेको शोषणबारे सहयोग नगरेको भन्ने आरोप लागेपछि पूर्वमिस नेपाल सुब्बाले सार्वजनिक माफी माग्नु परेको हो ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत सुब्बाले लामो माफीपत्र पोस्ट गर्नुभयो । आफू माफीको लायक नभएकोसमेत उक्त पोस्टमा स्पष्ट पार्नुभएको छ ।

बाहिर आएको भिडियो अनुसार ती युवतीलाई सञ्चालकले ६ महिनासम्म बलात्कार गरेका थिए । त्यसबेला सुब्बासँग सहयोग माग्दा त्यो तिम्रो समस्या हो, मलाई किन फोन गरेको भनेर बेवास्ता गर्नुभएको थियो ।

माल्भिका सुब्बाको माफीपत्रमा भनिएको छ, ‘सामाजिक सञ्जालमा साहसका साथ आफ्नो कथा साझा गर्ने यौन हिंसा पीडितसँग सम्बन्धित मेरो कार्य वा त्यसमा भएको कमीको लागि म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु ।’

उक्त घटनामा आफ्नो गल्ती स्किार गर्दै उहाँले अन्य कुरा पनि साझा गर्नुभएको छ । उहाँले भन्नु भएको छ, ‘मलाई विवरणहरू स्पष्ट रूपमा याद छैन, तर मलाई याद छ कि तपाईं (बलात्कृत किशोरी जो त्यस समयमा १६ वर्षकी थिइन् ) ले मलाई फोन गर्नुभएको थियो ।

म सँग यौन दुव्र्यवहारकर्ताको बारेमा कुरा गर्ने प्रयास गर्नुभएको थियो । मैले तपाईंलाई मेरो आवश्यकता पर्दा तपाईंलाई सहयोग नगरेको पनि सम्झन्छु ।’

सुब्बाका अनुसार उहाँले त्यसबेला निभाएको भुमिका माफीलायक छैन्, त्यसैले उहाँले क्षमा पाउने आश पनि गर्नुभएको छैन् । बलात्कृत किशोरीलाई सुन्न नसकेको, विश्वास नगरेको, र सहयोग नगरेकोमा उहाँ अहिले पनि माफी मागिरहनु भएको छ ।

उहाँले अगाडि भन्नुभयो, ‘तिमीलाई मसँग रिसाउने सबै अधिकार छ । म मैले पाएको सबै घृणाको हकदार छु । किनभने मैले तिमीलाई साँच्चै असहयोग गरें । तिमीलाई साथ नदिएर तिमीले भोग्नुपरेको अन्यायमा मैले पनि योगदान पुर्‍याएको छु भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्दछु ।’

उहाँले अगाडि भन्नुभयो, ‘तर, तपाईंले ‘बलात्कार’ भन्ने शब्द उल्लेख गरेको वा तपाईंले कुरा गरिरहनुभएको तरिकाले मैले प्रतिक्रिया दिएको मलाई याद छैन । म विश्वास गर्न चाहन्छु कि मैले ‘बलात्कार’ जस्तो गम्भीर कुरा सम्झनेछु, त्यसैले हालसालै यसको बारेमा सुन्दा म छक्क परें, तर म तपाईंमाथि विश्वास गर्छु ।

म अब आफूलाई उस्तै हेर्न सक्दिँन। तपाइँका पोष्टहरू हेर्दै र तपाइँले प्रतियोगितापछि भोगेको सबै कुराको लागि म जिम्मेवार छु भन्ने महसुस गर्दै मलाई लाग्छ कि म आफैंलाई कहिल्यै माफ गर्न सक्छु भन्ने लाग्दैन् । मलाई थाहा छ यो धेरै ढिलो भएको छ तर म आशा गर्छु कि म मा यो छ कि तपाईलाई सही गर्न र तपाईको क्षमा पाउन सक्छु ।’

सुब्बाले पुनः ती युवतीसँग क्षमायाचना गर्नुभएको छ । डिप्रेशनको सिकार भएकी ती युवतीलाई निको पार्नको लागि अब भने धेरै भन्दा धेरै सहयोग गर्न चाहेको कुरा उहाँले बताउनु भएको छ । न्यायको लडाँईमा अब ती युवतीको साथमा उभिने सुब्बाले प्रण समेत गर्नुभएको छ ।

सुब्बा लेख्नुहुन्छ, ‘यदि म जनताको नजरबाट टाढा हुँदा तपाईलाई अलिकति पनि निको हुन मद्दत हुन्छ भने, म त्यसो गर्नेछु । यदि तपाईंले व्यक्तिगत रूपमा मविरुद्ध आफ्नो क्रोध व्यक्त गर्नुभयो, र मैले व्यक्तिगत रूपमा माफी माग्दा तपाईंलाई राम्रो महसुस हुन्छ, म त्यसो गर्नेछु । कुनै पनि कुरा जसले तपाईंलाई निको पार्न मद्दत गर्दछ जुन म गर्न सक्छु, म त्यसो गर्नेछु ।’

वर्तमान समयमा आफूलाई धेरै थोरै मानिसहरुले विश्वास गरिरहेको भन्दै उहाँले सबैसँग एक अनुरोध पनि गर्नुभयो । ती युवतीसँग उनलाई दुर्व्यवहार गर्ने व्यक्तिको नाम पटक पटक सोध्न बन्द गर्न उहाँको अनुरोध छ ।

उहाँले भन्नुभयो, ‘हामी मध्ये कसैले पनि कल्पना गर्न सक्दैनौं कि उनी यस समयमा के गरिरहेकी छिन् । उनले यी सबै वर्षहरूमा के पार गरिरहेकी छिन् । म हामी सबैलाई उहाँको कुरा सुन्न र उनले खोजेको र चाहिने समर्थन दिन अनुरोध गर्न चाहन्छु ।’

उहाँले पुनः भन्नुभयो, ‘म विरुद्ध उनको क्रोध जायज छ र म पूरै बुझ्छु कि तपाईहरु मध्ये धेरै किन ममाथि क्रोधित र निराश हुनुहुन्छ । म आफैंसँग रिसाएको छु र म निराश छु । तर मलाई अझै आशा छ कि तपाईंहरू मध्ये केहीले मेरो कुराको पक्ष पढ्नुहुनेछ । आशा छ कि म तपाईंको विश्वास र समर्थन फिर्ता पाउन सक्छु ।’

आफू अहिले पनि धेरै कुराहरु सिक्दै गरेको भन्दै शुब्बाले अगाडि भन्नुभयो, ‘मैले पहिले भनेझैं, अन्तिमसम्म वा प्रतियोगिता पछि पनि मैले कुनै खास कुरा सुनेको थिइनँ । यो सम्भवतः ८–९ वर्ष पहिलेको कुरा हो जब उनले मलाई फोन गरेर दिमागको अवस्था ठीक नभएकोले मैले उनको कुरा सुनिन् ।

त्यसबेला मैले यसबारे थप सोधपुछ गर्दा मलाई अर्कै कुरामा विश्वास गर्न लगाइयो । मैले अरू मानिसहरूले साझा गरेको कुरालाई विश्वास गर्ने निर्णय गरें, उनको कुरा होइन् । मैले यो घटना भएपछि छिट्टै कार्यक्रम र आयोजकसँग मेरो सबै सम्बन्ध तोड्ने निर्णय गरें ।’

थप्दै भन्नु भएको छ, ‘म त्यो समयमा डिप्रेशनसँग लडिरहेको र अत्यन्तै विषाक्त कार्यस्थल बन्न लागेको कुरामा संलग्न हुन नचाहेको सम्झन्छु । ठीक पछि म मेरो विवाहबाट अलग हुने प्रक्रियामा थिएँ र मद्दत लिन खोज्दै थिएँ ।

अब मैले महसुस गरें कि मेरो त्यो कार्य वा कार्यको अभाव ठूलो गल्ती थियो । अब मैले त्यो समयको मेरो रोजाईले उनले भोगेको अन्यायमा योगदान पुर्‍याएको र निरन्तरता पाएको तथ्यलाई लिएर बाँच्नु पर्छ ।

मैले उनीसँग लामो कुराकानी गर्नुपर्थ्यो । म आफैं उनीकहाँ पुग्नुपर्थ्यो । मैले उनको हात समात्नुपर्थ्यो, उसलाई अँगालो हाल्नुपर्थ्यो । म उनको लागि त्यहाँ हुनुपर्थ्यो । मैले केही गर्नुपर्थ्यो ।’

जसरी उनले भनिन्, मैले उनलाई फोन गरेर ‘तिमी सन्चै छौ ?’ भन्न सक्थें तर मैले गरिन् । मैले पनि विगत ८ वर्षमा विशेष गरी मिटू आन्दोलन पछि यो गर्न सक्थें तर फेरि गरिन ।

मैले उसलाई निराश गरें र मैले तपाईहरू सबैलाई निराश गरें । म मैले पाएको सबै घृणाको हकदार छु । किनभने एक महिलाको रूपमा, एक मानवको रूपमा, र सापेक्ष प्रभाव र शक्ति भएको व्यक्तिको रूपमा, म पूर्ण रुपमा असफल भएँ ।’

जानकारी अनुसार सो घटनामा अफेयर भएको कुरा सुब्बालाई बताइएको थियो । यस विषयमा उहाँले भन्नु भएको छ, ‘मैले अफवाहहरू (उनीहरूसँग अफेयर भए) को बारेमा सुन्न थालेपछि मैले उनी १६–१७ वर्षको मात्र थिइन भन्ने महसुस गर्नुपर्ने थियो ।

मैले आयोजकहरूसँग कुरा गर्नुपर्थ्यो र त्यसबेलाको अफवाहको विरुद्धमा कडा अडान लिनुपर्थ्यो । तर मैले सचेत निर्णय नगर्ने निर्णय गरें । म मेरो कार्यलाई उचित मान्ने सोच राख्दिँन् ।’

सम्बन्धित खबरहरु