काठमाडौं । ८ वर्ष अघि बलात्कारको सिकार भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएकी पीडित युवतीले प्रहरीलाई भेट्न अस्वीकार गर्नुभएको छ ।

भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको खुलेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उहाँसँग भेटघाट हुन नपाएको बताएको छ ।

अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरेको थियो ।

तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उहाँसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताउनुभयो ।

एसएसपी कुँवरका अनुसार सामाजिक सञ्जालमा एक युवतीले आफू ८ वर्ष पहिले बलात्कृत भएको भनेर भिडियो सेयर गरेको कुरा प्रहरी जानकारीमा आएलगत्तै यसबारे अनुसन्धान सुरु गरिएको हो ।

प्रहरीले अहिले घटनाक्रमको अध्ययन तथा विश्लेषण गरिरहेको छ । पहिले पीडित भनिएकी युवतीलाई भेट्ने प्रहरीको तयारी रहेको छ । त्यसपछि उहाँसँग कुराकानी गरेर थप अनुसन्धान हुनेछ ।

युवतीको ठेगाना प्राप्त भए पनि भेटघाट हुन नसकेको उहाँले जानकारी गराउनुभयो । युवतीको घरमा अहिले भीड भएका कारण समय नमिलेको एसएसपी कुँवरले उल्लेख गर्नुभयो ।

युवतीसँग कुराकानी गरेर थप विवरण संकलन गर्ने र अनुसन्धान गरी कारवाहीको दायरामा ल्याइने छ । अपराध गरेको पुष्टी भएमा अपराध गर्नेमाथि कारवाही गर्ने कानूनी व्यवस्था के हो, हदम्यादका कारण कारवाही चलाउन मिल्छ कि मिल्दैन भनेर हेरिने छ ।

सम्बन्धित खबरहरु