काठमाडौं । टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताउनुभएको छ ।

दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएसँगै शुक्रबार साँझ पदभार ग्रहण गर्दै उहाँले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै सबै राजनीतिक दल र जनतालाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताउनुभएको हो ।

“टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिको हो, यसको विकासका लागि म निरन्तर लाग्नेछु”, उहाँले भन्नुभयो । उहाँले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बित्यो, विकासको जग बसालेका छौँ, त्यसलाई पूरा गर्न अब हामी एकजुट भएर लाग्नेछौँ”, उहाँले भन्नुभयो ।

आगामी पाँच वर्षमा टोखा नगरपालिकाले ठूलो विकास गर्ने उहाँको भनाइ थियो । नगरप्रमुख अधिकारीले सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताउनुभयो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अधिकारीले नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १६६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी हुनुभएको छ । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गर्नुभएको थियो ।

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।

सम्बन्धित खबरहरु