काठमाडौं । कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पु¥याएको छ ।

मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति पु¥याएको हो ।

भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै हावाहुरीसहितको असिना–पानीले नष्ट गरेको खाँडाचक्र नगरपालिका–२ का किसान अनिपाल विकले बताउनुभयो ।

“मकैका हुर्किसकेका बिरुवा र उम्रिँदै गरेका बिरुवामा असर पु¥याएको छ”, उहाँले भन्नुभयो, “पुनः हामीले मकैबाली लगाउने तयारी गरेका छौँ ।”

किसानले लगाएको बेमौसमी तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको र यसले किसान मारमा परेको सोही वडाका हजुरा विष्टले बताउनुभयो ।

“मेलै एउटा खेत पूरै प्याज तथा अन्य बेमौसमी तरकारी खेती गरेको थिए”, उहाँले भन्नुभयो, “हावाहुरी, असिना पानीका कारणले दुई लाखभन्दा बढीको क्षति भएको छ ।”

जिल्लाभर आएको हावाहुरी तथा असिना–पानीले स्याउखेतीमा पनि असर गरेको तिलागुफा नगरपालिका–१ का किसान राजबहादुर बुढाले बताउनुभयो ।

“स्याउका बोटमा भर्खर चिचिला लाग्दै थिए, हावाहुरीसहित आएको असिना पानीले ती सबै चिचिलाहरू झारेको छ”, उहाँले भन्नुभयो ।

स्याउ उत्पादनका लागि यो मौसममा पानी पर्दा उपयुक्त हुने र हावाहुरी असिना पर्दा उत्पादनमा कमी आउने रास्कोट नगरपालिका–९ का नवराज रोकायाले बताउनुभयो ।

कालीकोटका तिलागुफा नगर र रास्कोट नगर स्याउ–क्षेत्र हुन् । खाँडाचक्र नगरलाई तरकारी पकेट क्षेत्र र नरहरिनाथ गाउँपालिकालाई मकै पकेट क्षेत्रका रूपमा जिल्ला कृषि विकास कार्यालयले घोषणा गरेको छ ।

सम्बन्धित खबरहरु