खोटाङ, ७ जेठ (रासस) : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश तथा केन्द्रका प्रभावशाली नेताहरूको वडा तथा पालिकामा फरक राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् ।

दश स्थानीय तह रहेको खोटाङमा आफ्नो गृहवडा तथा पालिकामा अर्कै पार्टीका उम्मेदवार विजयी भएपछि प्रदेशका मन्त्री तथा केन्द्रीयस्तरका नेताहरूको पार्टीभित्रै आलोचना भइरहेको छ ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उदिमबहादुर राई प्रमुख र नेपाली कांग्रेसका रुपेश राई उपप्रमुखमा विजयी हुनुभएको छ ।

विसं २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा दुवै पदमा एमाले विजयी भएको सो गाउँपालिकामा यस वर्षको निर्वाचनमा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवार बन्नुभएकी कविता राई र उपप्रमुखका उम्मेदवार राजन बञ्जरा पराजित हुनुभएको छ ।

प्रमुखमा उदिमबहादुरले तीन हजार ७२८ मत ल्याएर विजयी हुँदा कविताले तीन हजार ६९० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा जित हासिल गर्नुभएका रुपेशले तीन हजार ७६३ मत ल्याउँदा राजनले तीन हजार ३१० मत प्राप्त गर्नुभएको छ ।

एमाले प्रमुख सचेतक भट्टराईको गृहवडा खोटाङबजारमा भने एमालेका शिवप्रसाद फुँयाल विजयी हुनुभएको छ । कांग्रेसका प्रेम थापालाई १६५ मतले पछि पार्दै एमाले उम्मेदवार फँुयाल वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राईको गृहपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई प्रमुखमा विजयी हुनुभएको हो । लोकेन्द्रले दुई हजार ८०३ मत ल्याएर विजयी हुँदा नइन्द्रले दुई हजार १६२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा कांग्रेसकी रमा कटवाललाई ४२१ मतले हराउँदै एमालेकै अरुणा थापामगर विजयी बन्नुभएको छ । अरुणाले दुई हजार ७३३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी रमाले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को निर्वाचनमा सो गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो ।

माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई विजयी हुनुभएको छ ।

उपप्रमुखमा भने माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई निर्वाचित हुनुभएको छ । रविप्रकाशले एक हजार ८५० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार ७७२ मत प्राप्त गर्नुभएको छ । खड्का निवर्तमान पालिका प्रमुखसमेत हुनुहुन्छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्षमा विजयी हुनुभएको छ ।

एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राईलाई ४३६ मतले पछि पार्दै कांग्रेसका समिर राई विजयी हुनुभएको हो । समिरले दुई हजार २४४ मत ल्याएर विजयी हुँदा माइतीराजले एक हजार ८०८ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको उपप्रमुखमा जनता समाजवादीका उम्मेदवार गुरुराज राईले जित हासिल गर्नुभएको छ ।

गुरुराजले एक हजार ९८३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका मैया सुनुवारले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ । मन्त्री राईको गृहवडा बास्पानीमा भने एकीकृत समाजवादीका तुलाराम राई विजयी हुनुभएको छ ।

एमालेकी केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको वडा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादीका खगेन्द्र राई विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित डिल्लीकुमार राईलाई हराउँदै माओवादीका उम्मेदवार खगेन्द्र वडाध्यक्षमा विजयी हुनुभएको हो ।

यस्तै कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत विजयी हुनुभएको छ । बस्नेतले ३९५ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र राईले २५५ ल्याउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले छ तथा माओवादी र एमालेले दुई/दुई स्थानीय तह जितेका छन् । अघिल्लो अर्थात् २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एक स्थानीय तह जितेको थियो ।

सम्बन्धित खबरहरु