काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्ता विषयमा सीघ्र छानविनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

“पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानविन समिति गठन गरिएको र समितिबाट छानविनसमेत शुरु भइरहेको अबस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ”, गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले शुक्रबार गठन गरेको उक्त छानविन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गर्नुभएको तथा नागरिक समाजबाट कारवाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित खबरहरु