काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागि हुँदा आयोजकले बलात्कार गरेको घटनामा संलग्न एकजना पक्राउ परेका छन् ।

आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै काठमाडौंमा निरन्तर केही दिनदेखि प्रदर्शन हुँदैछ ।

यो बीचमा सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका हुन् ।

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट नियन्त्रणमा लिएको हो ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनीमाथि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगितामा एक प्रतियोगीलाई लाई बेहोस बनाएर बलात्कार गरेको आरोप लागेको छ ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै रेग्मी थरकी एक प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गर्नुका साथै भिडियो र फोटो पनि बनाएको पीडितको आरोप छ ।

त्यसपछि सोही भिडियो र तस्विर देखाएर उनले ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको कुरा ती युवतीले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् ।

त्यसबेला उनको उमेर १६ वर्ष थियो । उनले पूर्व मिस नेपाल माल्भिका शुब्बासँग सहयोग मागेकी थिइन् ।

तर शुब्बाले बेवास्ता गर्दै सहयोग गर्नुभएको थिएन् । सो व्यवहारलाई लिएर उहाँले हालै सार्वजनिक रुपमा माफी पनि माग्नु भएको छ ।

सोही घटनाका कारण ती किशोरी ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्न बाध्य भइन् ।

तर केही गर्दा पनि सञ्चो नभएपछि डाक्टरहरुले उनीमाथि भएको सबै घटनाबारे खुलेर बोल्न सुझाव दिएका थिए ।

सम्बन्धित खबरहरु