जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा र उपमेयरमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका विजयी भएका छन्।

बर्दिबासमा मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्रीले फराकिलो मतान्तरले जित हासिल गर्नुभएको हो ।

क्षेत्रीले माओवादीका उम्मेदवार राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले हराउनुभयो ।

क्षेत्रीले १४२१० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका मेयरका उम्मेदवार खड्काले ८३२३ मत ल्याउनुभयो ।

अन्तिम समयमा कांग्रेसले क्षेत्रीको टिकट खोसेपछी उहाँले प्यानलसहित उम्मेदवारी दिनुभएको थियो ।

कांग्रेस प्रदेश कमिटीले क्षेत्रीलाई नै मेयरको टिकट दिएको थियो। तर केन्द्रले हस्तक्षेप गरेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनायो।

तर कांग्रेस उम्मेदवार हमालको भने जमानत समेत जफत भएको छ। खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उहाँको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले जनाएको छ। उहाँले १२६३ मत मात्र ल्याउनुभयो ।

नेकपा एमालेका टेक बहादुर बलमपाकीले ३५२६ मत ल्याएर तेस्रो बन्नुभयो ।

उपमेयरमा पनि कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी तारादेवी महतोले ९७३६ प्राप्त गरेकी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी माओवादीकी कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गर्नुभयो ।

कांग्रेसकै उपमेयरकी उम्मेदवार अमिनाकुमारी महतोको समेत जमानत जफत भएको छ। उहाँले १७८५ मत मात्र ल्याउनुभयो ।

 

सम्बन्धित खबरहरु