काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ ।

उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच वडा नं ७ र ९ मा कांग्रेस विजयी भएको छ । वडा नं ७ मा कांग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याउनुभएको थियो ।

विजयी भएपछिको सामूहिक तस्वीरमा
तुलसीपुर उपमहानगरपालिका–७ का नवनिर्वाचित जनप्रतिनिधि सामूहिक तस्वीर खिचाउँदै । सो वडामा गठबन्धनका तर्फबाट काँग्रेसका रामबहादुर जिसी विजयी भएका छन । तस्वीर : नारायणी रजौरे/रासस

त्यस्तै वडा नं ९ मा कांग्रेसका घनश्याम ढकाल एक हजार नौ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका वामदेव न्यौपानेले ९८६ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म तुलसीपुरका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खबरहरु