काठमाडौं । केटीको पछि लागेर देशको गोप्य सूचना चुहावट गर्ने एक सैनिक पक्राउ परेका छन् ।

पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतीय सैनिक पक्राउ परेका हुन् ।

हनिट्र्यापको आशंकाका कारण सेनाका अधिकारीहरूले उनलाई निगरानी गरिरहेका थिए, पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो ।

सैनिक जवान जोधपुरमा तैनाथ थिए । उनलाई पाकिस्तानको आईएसआई महिला एजेन्टले हनीट्र्यापमा फसाएकी हुन् ।

हनिट्र्यापमा फसेपछि जवानले सेनासँग सम्बन्धित धेरै गोप्य दस्तावेज पनि महिलासँग सेयर गरेको आरोप छ । राजस्थान इन्टेलिजेन्सले पुष्टि गरेपछि मे १८ मा जोधपुरबाट उनलाई पक्राउ गरी जयपुर लगिएको थियो ।

सोधपुछका क्रममा धेरै जानकारी बाहिर आएको छ । सेनाका जवानले अधिकारीहरूलाई आफू सेनाको कार्यालयमा गएर महिलासँग धेरै जानकारी सेयर गर्ने गरेको बताए ।

सोधपुछका क्रममा २४ वर्षीय प्रदीप कुमार मूलतः उत्तराखण्डको रुर्कीका भएको खुलेको छ । उनी तीन वर्षअघि सेनामा भर्ना भएका थिए ।

तालिमपछि जोधपुरमा सेनाको अतिसंवेदनशील रेजिमेन्टमा बन्दुकधारीका रूपमा खटिएका थिए । करिब सात महिनाअघि उनको मोबाइलमा अपरिचित महिलाको फोन आयो ।

लगातार फोन आएपछि प्रदीपले ती महिलासँग मित्रता बनाएका थिए । त्यसपछि दुवैबीच कुराकानी सुरु भयो । ती महिलाले आफू मध्य प्रदेशमा वस्ने र बेङ्गलोरको बहुराष्ट्रिय कम्पनीमा काम गर्ने गरेको बताइन् ।

ती सैनिक महिला जासूसको कलमा यति हराए कि कागजात साझा गर्न भनेपछि त्यसो गर्न थाले । पाकिस्तानी महिला जासूसले प्रदीप कुमारसँग विवाह गर्ने वाचा पनि गरेकी थिइन् । दुवैजना भिडियो कलमा पनि कुराकानी गर्थे । सोही क्रममा दिल्लीमा पनि भेट्ने वाचा उनीहरुले गरेका थिए ।

डीजी इन्टेलिजेन्स उमेश मिश्राले पाकिस्तानी एजेन्ट महिलाले विवाहको बहानामा प्रदीप कुमारसँग सेनाको गोप्य कागजातको फोटो मागेको बताए ।

त्यसपछि प्रदीपले सेनाको गोप्य कागजातको तस्बिर कैयौं पटक खिचेर पठाए । उनको मोबाइलको अनुसन्धानमा पनि यी तस्बिर पठाएको पुष्टि भएको छ । ती महिलाले प्रदीप कुमारमार्फत एक सिम पाइन्, ताकि त्यसबाट अरु सिपाहीहरूलाई आफ्नो शिकार बनाउन सकुन् ।

हनिट्र्यापको सम्भावनालाई मध्यनजर गर्दै सेनाले विगत केही वर्षदेखि लगातार आफ्ना कर्मचारीलाई विशेष निर्देशन दिँदै आएको छ । उनीहरुलाई आधिकारिक काममा ह्वाट्सएप प्रयोग नगर्न भनिएको छ ।

यससँगै संवेदनशील काम गर्दा फेसबुक र इन्स्टाग्राम खाता डिलिट गर्न पनि निर्देशन दिइएको छ ।

एक अधिकारीका अनुसार पाकिस्तान र चीनका गुप्तचर एजेन्सीहरूले एम्बुस तयार गरेका छन् । भारतीय सेनाका कर्मचारीहरूलाई अनलाइनमा शिकार गर्ने गरिएको छ ।

 

सम्बन्धित खबरहरु