काठमाडौ । धरान उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयर पदमा निर्वाचित हर्क साम्पाङ (राई) खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिनुभएको हो ।

शुक्रबारे माविबाट एसएलसी दिएर उहाँ २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान आउनुभयो । महेन्द्र बहुमुखी क्याम्पसबाट उहाँले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गर्नुभएको छ ।

पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाउनुभयो । उहाँले रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा विताउनुभयो । साहित्यमा रुचि भएका उहाँ आंफै गीत लेख्नुहुन्छ, गाउँनुहुन्छ । एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकाल्नुभएको थियो ।

उहाँमा देशलाई केही गरौं भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उहाँको।

२०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उहाँ सहसंयोजक हुनुहुन्थ्यो ।

उहाँको टर्निङ पोइन्ट त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरुमा आवाज उठाउन थाल्नुभयो ।

भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्न थाल्नुभयो । जनताको जनजीविकाको सानो सानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङको बुझाई छ ।

‘मैले ठूलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको विषयमा आवाज उठाएको हो, जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उहाँ भन्नुहुन्छ, ‘खानेपानीको बिषय उठाए, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, त्यसैले जनताले मलाई नियालीरहनुभएको रहेछ।’

स्थानीय मुद्दा मात्र होइन, सिमा अतिक्रमण र एमसीसीविरुद्ध पनि उहाँ कहिले एक्लै प्रर्दशनमा हिँड्नुभयो, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्नुभयो ।

सिमा अतिक्रमणको मुद्दा चर्किदा उहाँले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशनसमेत गर्नुभयो । सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समूहले उहाँका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो। पछि प्रहरीले उल्टै उहाँ र उहाँका साथीहरुलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उहाँ पक्राउ पर्नुभयो ।

उहाँ जे गर्नुहुन्थ्यो, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ पनि गर्नुहुन्थ्यो । धरान र विदेशमा रहेका हजारौं मानिस उहाँसँग त्यसरी जोडिएका छन्, र उहाँको अभियानबारे जानकार छन्। उहाँले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाउनुभएन, र फेसबुकबाट नै चुनावी अभियान चलाउनुभयो ।

साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँनुहुन्छ । उहाँ २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठ्नुभएको थियो । त्यसबेला मात्र उहाँले ४२२ मत पाउनुभयो । त्यसबेला पनि धरानेहरुले परिवर्तनको पक्षमा भोट दिदै कम्युनिष्ट गढमा पहिलो पटक कांग्रेसका उम्मेद्वार तिलक राईलाई जिताए। कम्युनिष्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउदा पनि अपेक्षाकृत काम हुन नसक्दा धरानेहरु निराश थिए।

यसपाली उहाँहरुले उपयुक्त पात्रकोरुपमा आफूलाई भोट दिएको साम्पाङको भनाई छ। ‘राजनीतिक दलहरुले धेरै लापरवाही गरे। खानेपानी माग्न जादा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो।

जनप्रतिनिधिहरु जो सत्तामा पुगेपनि दुरुपयोग गरे, र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’जनताले विश्वास गर्नुको कारणबारे उहाँ भन्नुहुन्छ,‘ उपनिर्वाचनमा हारेँ पनि म सधै जनताको माझमा थिएँ। टोल टोलमा समस्याहरु बुझ्दै हिडिरहे, मेरो त्यो निष्ठा देखेर पनि मलाई भोट दिनुभयो। राजनीतिक दलहरु चुनावको बेला मात्र घरदैलो गर्दै जान्छन्।’

उहाँले निरन्तर खानेपानीको मुद्दा उठाइरहनुभएको छ । आफू मेयरमा निवार्चित भएमा खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने काम प्राथमिकता दिने उहाँले बताउनुभयो। राजनीतिक दलहरुले अपराधलाई लुकाउने गरेकोले आफू कुनै पार्टीमा नजाने उहाँको भनाई छ।

तर, आस्था र सिद्धान्तको हिसाबले आफु कम्युनिज्म मन पराउने साम्पाङ बताउँनुहुन्छ । ‘सैद्धान्तिक हिसाबले कम्युनिज्म मन पराउछुँ तर कुनै पार्टीको सदस्यता लिएको छैन।

गरिब दुःखीहरुकै हितमा काम गर्छु, उहाँहरुको संरक्षण गर्छु,’उहाँले भन्नुभयो, ‘म राजनीतिमा रहिरहदिन। राजनीतिक दलका नेताहरु राम्रो नभएर मात्र हामी आउनु परेको हो। सेवा प्रवाह राम्रो हुनुपर्छ। जिते भने एक कार्यकाल गर्छु, पछि फेरि आवश्यकता पर्यो भने निरन्तरता हुनसक्छ।’

सम्बन्धित खबरहरु