काठमाडौं । तपाईले व्यक्तिगत कसैको ऋण नलिएपनि राज्यले लिएको ऋण तपाईको थाप्लोमा छ ।

तपाईको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण पुगेको छ ।

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेकोसँगै हरेक एक नेपालीको थाप्लोमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८ / ७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ ।

यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

फागुनसम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ ।

सम्बन्धित खबरहरु