काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ (लामा भिक्षु) धरौटीमा रिहा हुनुभएको छ ।

चौतर्फी रुपमा दबाब सिर्जना भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उहाँलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।

प्रशासनको आदेशमा बौद्ध भिक्षु तामाङलाई धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आइतवार फिल्म ‘कबड्डी ४’ हेरेर फर्किएका दर्शकहरुसँग काठमाडौंको सिभिल मलमा सेल्फी खिच्ने क्रममा बौद्ध भिक्षु तामाङले पिठ्यूमा गलत नियतले छोएको भन्दै अभिनेत्री मिरुना मगरले गालामा थप्पड हान्नुभएको थियो ।

त्यहीँ तामाङले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी समेत माग्नुभएको थियो । तर त्यहाँ आफूले गल्ती नगरेपनि भीडले नै त्यसै माफी मगाएका कारण माफी माग्न बाध्य भएको उहाँको भनाई छ ।

उहाँले आफूले गल्ती नगरेको दावी गर्नुभएको छ । तर, पछि मिरुनाले तामाङलाई प्रहरीको जिम्मा लगाउनुभयो । आइतवारदेखि उहाँ प्रहरी हिरासतमा बस्नुभयो ।

मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बौद्ध धर्मालम्बीहरुले मंगलवार चाबहिलस्थित केएल टावरको अगाडि ‘कबड्डी ४’को पोस्टर जलाउँदै प्रदर्शन गरेका छन् ।

हलमा टाँगिएको फिल्मको पोस्टर समेत च्यातेका थिए । मिरुनाले सार्वजनिक रुपमा फुर्वासँग माफी माग्नुपर्ने माग गर्दै केही तामाङ युवाहरुले चलचित्र विकास बोर्डमा पनि प्रदर्शन गरेका छन् ।

 

सम्बन्धित खबरहरु