खोटाङ । मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चर्चित नेता जीवन श्रेष्ठ बचाउन नसकिएको चिकित्सक टोलीले घोषणा गरेको छ ।

प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।

उहाँ काठमाडौंको न्यूरो अस्पताल बासबारीमा उपचारको क्रममा हुनुहुन्थ्यो । उहाँलाई चिकित्सकहरुको टोलीले ‘सरी ही इज नो मोर’ भनेको पारिवारीक स्रोतले पुष्टि गरेको छ ।

अस्पतालको चिकित्सकीय टोलीले “सरी ही इज नो मोर” भनिसक्यो । तर धार्मिक तिथि मिलाउने परिवारको अन्तिम इच्छा रहेका कारण आज डेथ सर्टिफिकेट दिइएको छैन । उहाँलाई कृत्रिम स्वासमा चलाई राखिएको छ । भोलि मात्र अन्तिम संस्कारका लागि अस्पतालबाट डिस्चार्ज गरिने पार्टी स्रोतले बताएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्सअगाडि सडक छेउमा ठक्कर दिएको थियो। श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्सनजिकै बस्दै आउनुभएको थियो ।

पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो । श्रेष्ठलाई उपचारका लागि दिक्तेलको फेमिली केयर अस्पतालमा लगिएको थियो।

फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित न्युरो अस्पताल बाँसबारी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते हुनुभएको छ ।

हेलिकोप्टरबाट श्रेष्ठसँगै काठमाडौँ पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ।

मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते विष्णुकुमारी र अभिषेक आमाछोरा हुन्।

सम्बन्धित खबरहरु